MENU

प्लाष्टिक फ्रि जीवन शैली, के तपाईं तयार हुनुहुन्छ ?

Alina Tamrakar

एक पटक मात्र प्रयोग गरि फ्याँकिने प्लाष्टिकको असरबारे जनचेतना फैलाउन तथा यसको प्रयोगमा कमी ल्याई वैकल्पिक सामानको प्रयोग गर्न प्रोत्साहन गर्ने हेतूले सन् २०११ मा ‘प्लाष्टिक फ्रि जुलाई’ अभियानको सुरुवात गरिएको थियो ।

Plastic free Chhalange

 

प्लाष्टिकले हाम्रो घरायसी फोहोरको १० प्रतिशत भाग ओगटेको पाइन्छ । आधुनिक तथा सहज जीवनशैली प्रतिको हाम्रो मोहका कारण प्लाष्टिकप्रतिको हाम्रो निर्भरता बढ्दै गइरहेको पाइन्छ । अहिलेको अवस्थामा अत्याधिक मात्रामा प्रयोग हुने प्लाष्टिकका झोला, बोतल, बट्टा, कप तथा स्ट्र आदि यस्ता सामानहरू हुन् जस्ले हाम्रो जीवनका केही क्षणको लागि मात्र स्थान पाएको हुन्छ तर यस्ले पृथ्वीलाई भने सधैँको लागि स्थायी घर बनाइ दिन्छ ।

 

यिनै एक पटक मात्र प्रयोग गरि फ्याँकिने सिंगल युज प्लाष्टिकको असरबारे जनचेतना फैलाउन तथा यसको प्रयोगमा कमी ल्याई वैकल्पिक सामानको प्रयोग गर्न प्रोत्साहन गर्ने हेतूले सन् २०११ मा ‘प्लाष्टिक फ्रि जुलाई’ अभियानको सुरुवात गरिएको थियो । जुलाई महिना सकिए पनि यो अभियानको औचित्य बर्षै भरी छ ।

 

पश्चिम अष्ट्रेलियाको पर्थका ४० जना सदस्यबाट सुरू गरिएको यस अभियान अहिले विश्वभर फैलिएको छ । एक सर्भे अनुसार सन् २०१९ मा मात्रै संसारभरका १७७ देशबाट लगभग दुइ सय पचास मिलियन मानिसहरुले ‘प्लाष्टिक फ्रि जुलाई’ च्यालेन्जमा सहभागी भई प्लाष्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

प्लाष्टिकको जनस्वास्थ्य तथा वातावरणप्रतिको नकारात्मक असरका कारण यस्ता सिंगल युज प्लाष्टिकमा प्रतिबन्ध लगाउने शहरहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको पाइन्छ । यिनै सकारात्मक कार्यलाई साथ दिदैँ अष्ट्रेलियाका मूख्य सुपरमार्केटहरूले पनि आधिकारिक रूपमा सिंगल युज प्लाष्टिक झोलामा प्रतिबन्ध लगाइसकेको छ ।

 

के समस्या छ सिंगल युज प्लाष्टिकमा ?

 

प्लाष्टिक एक यस्तो पदार्थ हो जुन एक पटक उत्पादन भइसकेपछि वर्षौंसम्म न त कुहिन्छ न त नष्ट भएर नै जान्छ । बरू सानो सानो टुक्रा भएर वातावरण, जनावर तथा जनस्वास्थ्यमा विभिन्न समस्या सृजना गर्दछ । प्लाष्टिक गैर नविकरणीय स्रोत जस्तै तेल, ग्याँस, कोइला आदिको प्रयोगबाट उत्पादन गरिन्छ । वार्षिक रूपमा ५ सय विलियनदेखि १ ट्रिलियन प्लाष्टिक झोला उत्पादन हुने गरेको मानिन्छ । यसको लागि मात्रै विश्वको ८ प्रतिशत तेल खपत हुने गर्दछ ।

 

हामीले प्रयोग गरिसकेपछि फ्याँकिने प्लाष्टिकका वस्तुहरू या त खुल्ला स्थानमा या त ल्याण्डफिलमा वा विभिन्न माध्यमबाट समुद्रसम्म पुग्ने गर्दछ । हालसम्म उत्पादन भएको सबै प्लाष्टिक कुनै न कुनै स्थानमा अझै पनि यथावत रहेको बताइन्छ ।

 

तथ्याङ्क अनुसार संसारभर वार्षिक रूपमा ३ सय मिलियन टन प्लाष्टिकका सामान उत्पादन हुने गरेको पाइन्छ । जसमध्ये १० प्रतिशत मात्र पुनर्चक्रन (Recycle) हुने गरेको पाइन्छ भने फ्याकिएको प्लाष्टिक फोहर मध्ये प्रत्येक वर्ष १०–२० मिलियन टन यस्ता प्लाष्टिकका फोहोर समुन्द्रसम्म पुग्ने गर्दछ ।

 

प्लाष्टिक फोहोरलाई कसरी कम गर्ने ?

 

तल उल्लेखित केही सरल तथा व्यवहारिक कुरामा ध्यान दिइ हामीले घरमा वा कार्यक्षत्रमा सजिलै प्लाष्टिक जन्य फोहरको मात्रा कम गर्न मद्दत पु्याउन सक्छौ ।

 

  •  प्लाष्टिकबाट बनेको सामनको प्रयोग कम गर्ने । विशेष गरि एक पटक मात्र प्रयोग गरेर फ्याकिने (Single use) प्लाष्टिकको प्रयोग नगर्ने ।
  •  कुनै पनि सामान किन्न अघि सो सामान कत्तिको आवश्यक हो विचार गरेर मात्र किन्ने । यदी सो सामान प्लाष्टिकको सट्टा अन्य पदार्थ जस्तै कार्डवोर्ड, कागज, शिसा आदिमा उपलब्ध छ भने ति सामान प्रयोग गर्ने ।
  • दैनिक रुपमा पानीको बोटल, कफी, वा प्लाष्टिकको बट्टा (Take away container) किन्नु हुन्छ भने पुन प्रयोगिय पानीको बोटल, कफी वा टिफिन बट्टाको प्रयोग गर्ने । यसले वातावरण जोगाउनको साथसाथै आर्थिक फाइदा पनि गर्दछ ।
  •  दैनिक रुपमा निस्कने प्लाष्टिकको फोहोर जस्तै स्याण्डविच ब्याग (sandwich bag) तथा प्लाष्टिक झोलाको सट्टा पुन प्रयोगिय भाडा वा झोलाको प्रयोग गर्ने ।
  •  बजार जादाँ आफ्नै पुन प्रयोगिय झोला लिएर जाने बानी बसाल्ने ।
  •  नरम प्लाष्टिक (Soft Plastics) जस्तै पाउरोटीको खोल, चाउचाउ, बिस्कुट तथा चकलेटको खोल तथा काम नलाग्ने प्लाष्टिकको झोलालाई अलग्गै जम्मा पारि उचित व्यवस्थापन गर्ने |यदि तपाई अष्ट्रेलियामा बस्नु हुन्छ भने सो प्लाष्टिकलाई नजिकको सुपरमार्केट (Woolworths) वा (Coles) मा लागेर प्लाष्टिक कलेक्सन विनमा राख्ने । नेपाललगायत अन्य देश्मा पनि नरम प्लाष्टिक संकलन कार्य संचालनमा आएको हुँदा सो कर्यक्रम मार्फत आफ्नो प्लाष्टिक ब्यबस्थापन गर्न सकिन्छ । यी प्लाष्टिकलाई पुनर्चक्रन गरि नयाँ सामान बनाइन्छ ।
  •  एकपटक प्रयोग गरी फ्याकिने प्लाष्टिकको चम्चा, प्लेट, कप, स्ट्र आदि प्रयोग गर्नुको सट्टा पुन प्रयोगिय वा वातावरण्मा कम असर पर्ने खालेको जस्तै स्टिल, सिसा, आदिबाट बनेको सामन प्रयोग गर्ने ।
  • रिसाइकल गर्न मिल्ने कडा खालको प्लाष्टिकका सामन रिसाइकलिङ बिनमा राख्ने | तपाईं बसोबास गर्ने ठाउँमा रिसाइकलिङ बिनको सुविधा छैन भने स्थानीय तहमा उपलब्ध फोहर व्यवस्थापन कार्यक्रमलाई सम्पर्क गरी प्लाष्टिकको उचित व्यवस्थापन गर्ने ।

 

यसको साथ साथै प्लाष्टिक तथा यसको समस्याको बारेमा आफुलाई जानकारी भएको कुरा आफ्नो परिवार, छिमेकी तथा साथीहरुलाई सिकाउने । यदी तपाई पनि प्लाष्टिक फ्रि अभियानलाई साथ दिन वा सहभागिता जनाउन चाहनुहुन्छ भने आजै देखि सिंगल युज प्लाष्टिककको प्रयोग कम गर्दै जानुहोस् ।

 

अरुले के गरेको छ भन्दा पनि आफुले के गर्न सकिन्छ त्यसमा ध्यान दिनुहोस् चाहे त्यो जति सुकै सानो किन नहोस् । प्लाष्टिकलाई आफ्नो जीवनबाट विस्थापित गर्ने बाटो तपाई आफै पहिल्याउनु हुनेछ ।

 

सानो क्रियाकलापले पनि धेरैको साथ पाएको खण्डमा ठुलो परिवर्तन ल्याउन सक्दछ । समस्या युक्त सिंगल युज प्लाष्टिक मुक्त जीवन जीउन आजैबाट सुरु गरौ है ।

 

हाल सिड्नी, अष्ट्रेलिया

वातावरणसँग सम्बन्धित अन्य जानकारीको लागि

https://www.facebook.com/artofgreenlivingwithalina

tamrakaralina@gmail.com