MENU

अप्टेरोमा अस्ट्रेलियन सरकारी मिडिया; पत्रकारको रोजगारी गुम्दै

Chhatra Shankar
Editor at Nepalese Australian

एबिसीको निर्णय यस्तो समयमा आएको छ जतिबेला अस्ट्रेलियाका अधिकांश संचारमाध्यमले आफ्ना कर्मचारी कटौती गरिरहेका छन् । केही महिना अघि अस्ट्रेलियाको एसोसिएट प्रेसले पनि आफ्नो नै सेवा बन्द गर्ने घोषणा गरेको थियो । न्यूजकोर्पले अस्ट्रेलियाको रिजनल सहरहरूमा संचालन भैरहेका एक सय २० वटा स्थानिय अखवारहरु गरेको छ ।

Australian Broadcasting Corporation (ABC) head office Ultimo Sydney, Source: Nepalese Australian Photo: Rishi Acharya

Australian Broadcasting Corporation (ABC) head office Ultimo Sydney, Source: Nepalese Australian Photo: Rishi Acharya

सिड्नी । सरकारले ८४ मिलियन अस्ट्रेलियन डलर बराबरको बजेट कटौती गरेपछि अस्ट्रेलियाकै ठूलो र विश्वासिलो राष्ट्रिय प्रसारक संस्था अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (ए बि सी)का कम्तिमा दुई सय ५० जना कर्मचारीको जागिर खोसिने भएको छ । कार्यक्रम तर्फ एबिसी रेडियोको पौन आठ बजेको समाचार बुलेटिन सदाको लागि बन्द हुने भएको छ ।

एबिसीका प्रवन्ध निर्देशक डेभिड एन्डरसनले जनाए अनुसार एबिसीबाट करिब दुई सय ५० पत्रकार तथा कर्मचारीहरु कामबाट विदा हुने भएका छन् ।

समाचार शाखाबाट करिब ७० जनाले रोगजारी गुमाउने छन् भने मनोरञ्जन तथा बिशेष शाखाबाट करिब ५३ जनाको जागिर जानेछ । त्यसैगरी, क्षेत्रीय तथा स्थानीय शाखाबाट करिब १९ जनाले रोजगारी गुमाउने छन् ।

निर्देशक एन्डरसनले समाचारको समय कटौती गरी एबिसी लाइफ वेवसाईटलाई रिव्रान्ड गर्ने तथा कार्यक्रमहरु माथि पुर्नविचार गरिने बताए ।

यात्रा खर्च तथा टेलिभिजन कार्यक्रम उत्पादनमा लाग्ने खर्च कटौती गर्दै अस्ट्रेलियन जनता तथा विविधतालाई प्रतिनिधित्व हुने खालको कार्यक्रमलाई प्राथमिकतामा राखिने एबिसीले स्पष्ट पारेको छ ।

निर्देशक एन्डरसनले माथिल्लो तहमा केही परिवर्तन हुने जनाएपनि त्यसबारे थप जानकारी दिएनन् । तर, उनले सन् २०२५ सम्ममा करिब ७५ प्रतिशित पत्रकार तथा कार्यक्रम उत्पादकहरुले सिड्नी अल्टिमो स्थित मुख्यालय भन्दा बाहिर रहेर काम गर्ने जनाए । एबिसी लाईफकी सम्पादक भक्ति पुभानेनथरनले ट्वीटरमार्फत भनेकी छन्, “मेरो टिमबाट आधा कर्मचारीको कटौती भए ।”

संकटमा अस्ट्रेलियन मिडिया

एविसीको निर्णय यस्तो समयमा आएको छ जतिबेला अस्ट्रेलियाका अधिकांश संचारमाध्यमले आफ्ना कर्मचारी कटौती गरिरहेका छन । केही महिना अघि अस्ट्रेलियाको एसोसिएट प्रेसले पनि आफ्नो नै सेवा बन्द गर्ने घोषणा गरेको थियो । तर, नयाँ लगानीकर्ता भित्रिएपछि एसोसिएट प्रेस बन्द हुनवाट जोगियो ।

न्यूजकोर्पले पनि आफ्ना सम्पूर्ण प्रकाशनहरु डिजिटल माध्यमा संचाल गर्यो । जसले गर्दा अस्ट्रेलियाको रिजनल सहरहरूमा संचालन भैरहेका एक सय २० वटा स्थानिय अखवारहरु बन्द भए ।

सरकारले बजेट कटौती गर्नु प्रेस स्वतन्त्रता हनन् होः संचारविज्ञ

यसैबीच मिडिया इन्टरटेनमेन्ट एण्ड आर्ट एलायन्स (जनु अस्ट्रेलियामा आमसंचाकर्मीहरुको बैधानिक युनियन पनि हो) का प्रमुख कार्यकारी पल मर्फीले भने “गठबन्धन सरकारले एबिसी माथि आफ्नो युद्ध सन् २०१३ मा निर्वाचित भएदेखि नै सुरुवात गरेको थियो । बजेट कटौती गर्नु भनेको अस्ट्रेलियाको सर्वाधिक विश्वासिलो र महत्वपूर्ण सार्वजनिक संस्थालाई ध्वस्तपार्नु हो ।” मर्फीले भनेका छन, सरकारको आर्थिक कटौतीको निर्णय भनेको वैचारिक रुपले गरिएको हो र यसले एविसीको समाचार संकलन तथा स्वतन्त्रालाई कमजोर आँकलन गरेको छ। तर, कर्मचारी कटौती गर्ने एबिसीको निर्णय प्रति संघीय संचारमन्त्री पल फ्लेचरल भने स्वागत गरेका छन । उनले भनेका छन,  “एबिसीले आफ्ना अधिकांश कर्मचारी मुख्यालय भन्दा बाहिर राख्न गरेको निर्णय स्वागत योग्य छ ।”

क्यानडा स्थित संचारविज्ञ भानुभक्त आचार्य भन्छन, “कुनैपनि सरकारले राणनीतिक रुपमा मिडिया दिने बजेट रोक्यो भने प्रेस स्वतन्त्रतामा असर गर्छ । तर मिडिया आफैले आर्थिक अभावले बन्द या कर्मचारी कटौती गुर्छ भन्यो भने मिडिया हाउको ब्यवस्थापन संग जोडिन्छ ।”

कतिपय मिडियाले सरकारले पैसा नदिएको बहानामा पत्रकार तथा कर्मचारी कटौतीपनि गर्छन तर सरकारले पैसा कटौती गरेपनि कतिपय मिडिया भने पत्रकार र कर्मचारी कटौतीनै नगरी भएपनि सरकारी निर्णयको विरुद्धमा लड्ने गरेको आचार्यको बुझाइ छ ।

यस्तै अस्ट्रेलियाको ब्रिसवेनका मिडिया अनुसन्धानकर्मी डा भरत राज पौडेल भन्छन, “सरकारले एबिसी मिडियालाई दिने बजेट रोक्नु प्रेस स्वतन्त्रतामा अवरोध सिर्जना गर्नु हो।”

मिडियामा हुँदै आएको लगानि कटौतीको असर सरकारी सँगै नीजि लागानिका संचार गृहमा पनि परेको छ ।