MENU

अबका दुई साता थप चुनौतीपूर्ण : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आउने २ हप्ता हाम्रा लागी झन कठिन हुने बताएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गरेका हुन् ।

उनले चर्को गर्मीको प्रवाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरे ।

उनले निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गरेका छन् ।

यस्तै विदेशबाट आएका नेपालीहरुलाई उनले सेल्फ क्वारेनटाइनमा बस्न पनि आग्रह गरेका छन् । हेल्चेक्याईं गरिए यसले आफूलाई मात्र नभएर सबैलाई हानी पुग्ने तर्फ सचेत हुन पनि प्रधानमन्त्रीले आग्रह गरेका छन् । प्रधानमन्त्रीले लकडाउन गर्नु बाध्यात्मक अवस्था रहेकाले यसको सबैले पालना गर्न पनि आग्रह गरेका छन् ।

संकटको बेला र अरु बेला पनि सरकार जनताको पक्षमा रहने बताउँदै उनले स्वास्थ्यकर्मीलाई थप जिम्मेवारी महसुस गर्दै काममा खट्नका लागि अनुरोध पनि गरेका छन् ।

नागरिकको जीवन रक्षा भन्दा ठूलो अरु केहि नहुने भन्दै प्रधानमन्त्रीले विश्व समुदाय नै यस्तो महामारीसँग जुध्न तयार नरहेको सन्दर्भ उल्लेख गर्दै नेपालका लागि पनि यो ठूलो चुनौती रहेको स्वीकार पनि गरे ।