MENU

अमेरिकाले कोरोना भाइरसको त्रास फैलाएको चीनको आरोप

अमेरिकाले उल्लेख्य सहयोग गर्नुको साटो आफ्ना नागरिकहरूलाई फिर्ता बोलाएर अनि यात्रामा प्रतिबन्ध लगाएर कोरोनाभाइरस महामारीको डरलाई झन् फैलाएको आरोप चीनले सोमवार लगाएको छ ।

 

 

भाइरस फैलिएपछि आफ्ना देशका नागरिकलाई चीनबाट झिक्ने पहिलो मुलुक अमेरिका हो । उसले अमेरिकीहरूलाई चीन नजान समेत चेतावनी जारी गरेको छ ।

 


अनि उसले चीनमा केही समय बिताएका विदेशीहरूलाई अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

 

 

वाशिङटनले निरन्तर त्रास पैदा गर्दै फैलाइरहेको चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले संवाददाताहरूलाई बताइन् ।
विश्व स्वास्थ्य संगठनले व्यापार र यात्रामा नियन्त्रण गर्नु नपर्ने भनी बताएको कुरालाई पनि हुआले उल्लेख गरिन् ।

 

 

‘महामारीको रोकथाम गर्ने बलियो क्षमता र संरचना भएका अमेरिका जस्ता विकसित देश विश्व स्वास्थ्य संगठनको सिफारिश विपरीत अत्यधिक कडा नियन्त्रण गर्न अघि सरेका छन्,’ उनले भनिन् ।
देशहरूले तर्कसंगत, शान्त र विज्ञानमा आधारित निर्णय लिनुपर्ने उनको भनाइ छ ।

 

 

चीनमा कोरोनाभाइरसका कारण ३६२ जनाको ज्यान गइसकेको छ भने २० हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

 

 

हुआले पत्रकार सम्मेलन व्यक्तिगत रूपमा उपस्थित नभई वीच्याट यापमार्फत गरेकी थिइन् । त्यसक्रममा उनले कुनै सहयोग नगरेको भन्दै अमेरिकाको आलोचना गरिन् । ‘अहिलेसम्म अमेरिकी सरकारले चीनलाई कुनै ठोस सहयोग गरेको छैन,’ उनले भनिन् ।