MENU

अमेरिका लैजाने भन्दै अफ्रिकामा बन्धक बनाइएका ६ जना नेपाली कामदारको उद्धार

अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी भन्ने ठाउँमा बन्धक बनाइएका ६ जना नेपाली कामदारलाई मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोको टोलीले उद्धार गरेको छ।

 

 

ब्यूरोले २६ कात्तिकमा विज्ञप्ति जारी गरेर २१ कात्तिकमा मलावीको दक्षिणमा रहेको एक गाउँबाट पर्वतका ४, दाङका १, रुकुमका १ गरी ६ जना युवालाई उद्धार गरेको जनाएको हो।

 

 

उद्धार गरिएकामध्ये चार जनालाई ब्यूरोले नेपाल फर्काइसकेको छ । बाँकी दुई जनालाई नेपाल फर्काउने क्रममा रहेको ब्यूरोले जनाएको छ।

 

यस्तै, मलावी प्रहरीले घरमा बन्धक बनाएर राख्ने काममा संलग्न भारतीय मूलका नाजिर अहमदलाई मानव बेचबिखन तथा ओसारपसार गरेको अभियोगमा पक्राउ गरेको छ।

 

 

ब्यूरोका अनुसार विगत एक वर्षदेखि भियतनाम, इथियोपिया, नाडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै अफ्रिकाको मलावी पुर्‍याइएका नेपाली युवालाई अहमदले घरमा बन्धक बनाई राख्दै आइरहेका थिए।

 

 

प्रहरी अनुसन्धानबाट मानव तस्करको गिरोहले नेपाली युवालाई भियतनाममा २० दिन, इथियोपियामा चार महीना, नाडागास्कारमा २५ दिन, जोर्डनमा एक महीना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिनसम्म राखेर अफ्रिकाको मलावीमा लगी बन्धक बनाउने गरेको खुलेको छ।

 

 

यसरी मलावी पुर्‌याइएका ६ नेपाली युवासँग अहमदले २० हजार अमेरिकी डलर माग्ने गरेको अनुसन्धानबाट खुलेको छ।

 

 

उनले रकम दिन नसक्ने नेपालीलाई कुटपिट गर्दै यातना दिने गरेका थिए । त्यसबारेमा पीडित नेपालीले आफन्तलाई जानकारी गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

 

 

यस्तै, ब्यूरोले मलावी प्रहरीसँग मिलेर ओसारपसार तथा बन्धक बनाउने काममा संलन अन्तर्राष्ट्रिय गिरोहबारे अनुसन्धान भइरहेको जनाएको छ।