MENU

अस्ट्रेलियाका नेपालीले गुमाए एक असल मित्र

फाइल तस्विर: अस्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटी (एएनएफएस)काे सम्मन तथा “मिट एण्ड ग्रिट विद सु साल्टहाउन” कार्यक्रम, जनावरी २०२०

क्यानबेरा । अस्ट्रेलियाको नेपाली समुदायले एक घनिष्ठ मित्र गुमाएको छ । अस्ट्रेलियाको राजधानी क्यानबेरमा बर्षौ देखि नेपाली समुदायसँग हातेमालो गर्दै आएकी सुजन मार्गेट साल्टहाउसको सडक दुर्घटनामा परेर निधन भएको हो ।

स्थानिय एबिसी रेडियो क्यानबेराका अनुसार सोमबार २० जुलाई दिउस ३ बजे कमनवेल्थ एभिन्युको पुलमा कारले साल्टहाउसको स्कुटरलाई ठक्कर दिएको थियो । अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारका लागि निरन्तर पैरबी गर्दै आएकी सुजको निधनले क्यानबेरा बासीले एक अधिकारकर्मी गुमाएका छन् भने यहाँको नेपाली समुदायले एक घनिष्ठ मित्र गुमाएको छ ।

को हुन् सुसन मार्गेट साल्टहाउस

७१ बर्ष अघि मेलबर्नमा जन्मिएकी सुजनले कृषि बिज्ञान अध्ययन गरे पनि शिक्षण पेशा रोजिन । एलिस स्प्रिङ लगाएत अस्ट्रेलियाको ग्रामिण र रिजनल क्षेत्रमा उनले लामो समय शिक्षण गरेकी थिइन । सन् १९९५मा स्नोइ माउन्टेन क्षेत्रमा बिदा मनाउन गएको बेला घोडाबाट लडेर उनी गम्भिर दुर्घटनामा परिन । उनको ढाड भाँचियो । यो दुर्घटनले उनलाई सधैभरी हुइलचियरको साहरा लिनुपर्ने बनायो ।

सुजनले करिव दुई दशक अपाङ्गता भएका महिलाको पक्षमा पैरबी गरिन । उनी अपाङगता सम्बन्धि नीति तथा कार्यक्रम बनाउने बिभिन्न मञ्चमा सहभागि भईन । यही पैरबीको कारण सुजनलाई सिनियर सिटिजन अफ द इयर २०१९ का लागि मनोनयन गरिएको थियो । उनले क्यानबेरा सिटिजन अफ द इयर २०१५ लगाएत थुप्रै पुरस्कार र सम्मान पाएकी छन् ।

नेपाल र नेपालीसँगको साईनो

हिमाली क्षेत्रको पदयात्राका लागि सुजन नेपाल गएकी थिइन । नेपालमा रहँदा उनको भेट अस्ट्रेलियन वन परियोजनामा कार्यरत टोनी फर्नसाइडसँग भयो । सुजन र टोनीले नेपालमा रहँदा बिबाह पनि गरे । पछि सुजनले पनि वन परियोजना र अंग्रेजी भाषा शिक्षकको रुपमा काम गरिन । नेपाल छोडेर बेलायत र इटलीमा केही समय बसेपछि उनी क्यानबेर फर्किइन ।

क्याबेरामा सन् १९८२ मा अस्ट्रेलिया नेप्लिज फ्रेण्डसिप सोसाइटी (एएनएफएस) स्थापना भैसकेको थियो । सुजन उक्त संस्थाको सदस्य भइन । नेपाल बसाईका क्षणहरु बिर्षन नसकेकी सुजनले यहाँको नेपाली समुदायलाई आफ्नै परिवार सरह हेर्थिन् ।

अस्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटी (एएनएफएस) का पूर्व अध्यक्ष डा प्रेम जंग थापा पुराना दिनहरु स्मरण गर्दै भन्छन्, “म सन् १९९३ मा क्यानबेरा आउँदा सुजन एएनएफएस को सचिव हुनुुहन्थ्यो । नेपाली समुदायका सदस्यहरुलाई असाध्यै माया गर्ने, उहाँबाट हामीले अस्ट्रेलियन समाज, संस्कति सिक्न पायौ ।”

सुजन अस्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटी (एएनएफएस)को आजीवन सदस्य थिइन । तत्कालिन नेपाली राजदुत योगेन्द्र ढकाल र डा होममूर्ती पन्तले आजीवन सदस्यको प्रमाणपत्र सुजनलाई हस्तान्तरण गरेका थिए ।

अस्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटी (एएनएफएस) को आजीवन सदस्यता प्रमाणपत्र तत्कालिन नेपाली राजदुत योगेन्द्र ढकाल र डा होममूर्ती पन्तबाट ग्रहण गर्दै सुजन

एएनएफएस ले यही बर्ष जनावरीमा “मिट एण्ड ग्रिट विद सु साल्टहाउन” कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा सुजनलाई नेपाली समुदायको तर्फबाट सम्मन पनि गरिएको थियो ।

अस्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटी (एएनएफएस) का पूर्व अध्यक्ष डा कृष्ण हमाल सुजनलाई नेपाली समुदायको असल र घनिष्ठ मित्रको रुपमा हेर्छन् । डा हमालका अनुसार सुजनले असी र नब्बेको दशकमा क्यानबेरामा छात्रबृतीमा पढ्न आएका विद्यार्थीहरुलाई ठूलो सहयोग गरिन । नेपाली चार्डपर्वहरु सँगै मनाउने, उनी समुदायका कार्यक्रमहरुमा नियमितरुपमा हसभागि हुने गर्थिन ।

नेपाली दुतावास क्यानबेराले पनि सुजनलाई स्थानिय नेपाली समुदायको असल मित्रको रुपमा हेर्ने गरेको थियो । दुताबासले आयोजना गरेको प्राय सबै कार्यक्रममा सुजनको सहभागिता हुने गरेको थियो । क्यानबेरा स्थित नेपाली दुतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटा सुजनलाई सम्झदै आफ्नो फेसबुक पेजमा लेख्छिन : ”उनले नेपालमा आफ्नो जीवनका केही सुन्दर वर्षहरू बिताएकी थिइन।  याे दुखद घडीमा हामी उनकाे परिवार र साथीहरूमा   संवेदना व्यक्त गर्दछौं। हामीले तिमीलाई सम्झिरहने छाैँ।”