MENU

अस्ट्रेलियामा एक्सपर्ट फाउन्डेसनद्वारा विद्यार्थी सहायता कोष घोषणा

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको एक्सपर्ट फाउन्डेसनले नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा २ लाख अस्ट्रेलियन डलर अर्थात् नेपाली एक करोड ५४ लाख ५० हजार रुपैयाँ बराबरको ‘कोभिड– १९ एक्सपर्ट सहयोग कोष’ घोषणा गरेको छ ।

नेपालबाट अस्ट्रेलिया आएका सबैभन्दा बढी विद्यार्थीलाई शैक्षिक तथा आप्रवासन सम्बन्धी परामर्श दिँदै आएको एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजका निर्देशकहरुले स्थापना गरेको एक्सपर्ट फाउन्डेसन नामक च्यारिटी संस्थाले सहयोग कोष घोषणा गरेको हो ।

अहिले विश्वमा फैलिएको कोरोना भाइरसको महामारीबाट अस्ट्रेलियामा समस्यामा परेका विद्यार्थीहरुको सहयोगका लागि उक्त रकम खर्च गरिने एक्सपर्ट ग्रुपका डाइरेक्टर बद्रि अर्यालले जानकारी दिए ।

सहयोग प्राप्त गर्न फाउन्डेसनले यही अप्रिल १५ देखि ३० सम्म आफ्नो वेबसाइटमा गएर नाम दर्ता गर्न समस्यामा परेका विद्यार्थीहरुलाई अनुरोध गरेको छ

फाउन्डेसनद्वारा आइतबार प्रकाशित वक्तव्यमा उक्त सहयोग अन्तर्गत कोषबाट प्रतिविद्यार्थी कम्तिमा पनि तीन सय अस्ट्रेलियन डलरको विशेष कार्ड प्रदान गरिने उल्लेख छ । यसबाट पाँच सय विद्यार्थीलाई अस्ट्रेलियामा कम्तिमा दुई महिनासम्म न्युनतम आधारभूत आवश्यकताको लागि खर्च पुग्ने बताइएको छ ।

विश्वका बिभिन्न मुलुकबाट एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज मार्फत गत अक्टुबर १ यता अस्ट्रेलिया आई यहाँका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तर्रास्ट्रिय विद्यार्थीहरुप्रतिको आफ्नो पहिलो दायित्व तथा अभिभावकत्व भएकाले उक्त कोषबाट १ लाख ५० हजार अस्ट्रेलियन डलर उनीहरुका लागि छुट्याइने भनिएको छ ।

बाँकी ५० हजार अस्ट्रेलियन डलर अस्ट्रेलियामा नेपाली विद्यार्थीको हितमा क्रियाशील सामाजिक संघसंस्थाहरु मार्फत नै नेपाली विद्यार्थीलाई सहयोग गर्ने गरी छुट्याइएको छ ।

गत अक्टुबर महिनायता पहिलोपटक अस्ट्रेलियामा आई हालसम्म रोजगारी नभएका, रोजगारी भएर पनि महामारीका कारण गुमाएका विद्यार्थीहरुलाई उनीहरुको आधारभूत आवश्यकता पूरा गर्नका लागि बिभिन्न राज्यमा भएका एक्सपर्ट कार्यालय तथा सम्पर्कहरु मार्फत उक्त कोषबाट सहयोग गरिने फाउन्डेसनले बताएको छ ।

उक्त सहयोग प्राप्त गर्न फाउन्डेसनले यही अप्रिल १५ देखि ३० सम्म आफ्नो वेबसाइटमा गएर नाम दर्ता गर्न समस्यामा परेका विद्यार्थीहरुलाई अनुरोध पनि गरेको छ ।

कोरोनाभाइरसको महामारीबाट अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीका अविभावकहरु पनि अहिले प्रभावित भएको र यहाँ रहेका विद्यार्थीहरुको रोजगारीमा पनि असर गरेको यथार्थलाई पनि मध्यनजर गर्दै यो निर्णय गरिएको फाउन्डेसनले बताएको छ ।

कोभिड–१९ को कारणले अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पर्न सक्ने तत्कालीन र दीर्घकालीन असरहरुलाई कम गर्न सुरुदेखि नै आफ्नो सकृयता कायमै राखेको बताउँदै फाउन्डेसनले विभिन्न सरकारी एवं गैरसरकारी निकायहरु, शैक्षिक संस्थाहरु र सामुदायिक संघसंस्थाहरुसँग नियमित सम्पर्क र सम्वादको माध्यमबाट समस्याको पहिचान र यसको समुचित व्यवस्थापनका लागि आवश्यक पैरवी जारी राख्ने जनाएको छ ।

अहिले नेपाल, भारत, चीन, श्रीलंका, बंगलादेश, म्यान्मार, फिलिपिन्स, नाइजेरिया, हङ्कङ्गलगायत विश्वका बिभिन्न देशबाट एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेस मार्फत अस्ट्रेलिया आएर बिभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तर्रास्ट्रिय विद्यार्थीहरुको संख्या हजारौं छ ।

उक्त फाउन्डेसनले विद्यार्थीहरुका लागि दुई लाख डलरको सहायता कोष स्थापना गरेकोमा अस्ट्रेलियाको नेपाली समाज तथा सामाजिक संस्थाहरुले स्वागत गरेका छन् ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले  भने, ‘महामारीका कारण अप्ठेरोमा परेका विद्यार्थीका लागि यो कोष खडा गर्नु स्वागतयोग्य काम हो ।’

उनले भने– खास अप्ठेरोमा परेका र सहयोग आवश्यक भएका विद्यार्थी पहिचान गरेर उनीहरुलाई यो बेला सहयोग गर्नुपर्दछ । म सबै सामाजिक संस्थाहरु र उद्यमी व्यवसायीलाई यस्ता सहयोगी काममा सरिक हुन् सबैलाई अनुरोध गर्दछु ।

अस्ट्रेलियाका नेपाली कानून व्यवसायी तथा सामाजिक नेता डा. शम्सेर सिंह थापाले यो परिस्थितिमा शैक्षिक संस्था तथा शैक्षिक परामर्शदाताहरुको पनि विद्यार्थीप्रतिको नैतिक दायित्व भएको भन्दै एक्सपर्ट फाउन्डेसनले आफ्नो नैतिक दायित्व महसुस गरेकाले उक्त कामको सबैले प्रशंसा गर्नु पर्ने बताए ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले आफ्नो फेसबुकमा भनेका छन्– एक्सपर्ट मार्फत आएका र अन्य विद्यार्थीलाई लक्षित गरी यो कोष स्थापना जस्तो शुभकार्य गरेकोमा एक्सपर्ट फाउन्डेसनलाई धन्यवाद तथा शुभकामना ।

अस्ट्रेलियामा कार्यरत नेपाली नर्स धर्म अधिकारीले पनि एक्सपर्ट फाउन्डेसनको यो काम सच्चा अभिभावकत्व दर्शाउने काम भएको बताए ।

यसघि एक्सपर्ट ग्रुपले अस्ट्रेलियामा आगलागी नियन्त्रणमा खटेका अग्नि नियन्त्रकहरुलाई दश हजार अस्ट्रेलियन डलर सहायता गरेको थियो भने नेपालमा भूकम्पका बेला लाखौंको सहयोग गरेको थियो ।

उक्त फाउन्डेसनले नेपालमा बाढी पीडितहरुलाई पनि सहयोग गर्नुका साथै केही स्थानमा खानेपानी धाराहरु वितरण गरेर र दुर्गम जिल्लाका विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेर आफ्नो सामाजिक र व्यवसायिक दायित्व पूरा गरिरहेको एक्सपोर्ट ग्रुपका डाइरेक्टर बद्रि अर्यालले बताए ।

नेपालको क्रिकेट र फुटबल खेलको बिकासमा पनि योगदान गरिरहेको एक्सपोर्ट ग्रुपले नेपाली कला तथा साँस्कृतिक क्षेत्रको विकासमा पनि योगदान गरिरहेको छ । अस्ट्रेलियाका प्राय सबै सामाजिक कार्यक्रमहरुको प्रायोजन गर्ने गरेको यो संस्थाले अहिलेको महामारीका समयमा आफ्नो सबै काम महामारीबाट प्रभावित विद्यार्थीकालागि सहयोगमा केन्द्रित गरिने बताएको छ ।