MENU

अस्ट्रेलियामा जन्मेको पहिलो नेपाली; भन्छन्-मलाई गुराँस, सारङ्गी र मादल मन पर्छ

Mana Rishi Dhital
An editor at Nepalese Australian
बाबु नारायण प्रधान र आमा लिला प्रधानका साथमा जेठो छोरो संगम प्रधान ।
बाबु नारायण प्रधान र आमा लिला प्रधानका साथमा जेठो छोरो बाबु नारायण प्रधान र आमा लिला प्रधानका साथमा जेठो छोरो संगम प्रधान ।

तिथि : १९ अगस्ट १९७४ सोमबार । स्थान : अस्ट्रेलियाको भिक्टोरिया राज्यको राजधानी मेलबर्नमा रहेको सेन्ट भिन्सेन अस्पताल । एक नेपाली दम्पतिलाई पहिलो पुत्रलाभ भयो । त्यो नाबालकलाई भेट्न आउने उनका पिता बाहेक अर्को कोही नेपाली थिएन । अस्पताल १० दिन बस्दा गणेशको मूर्ति सामुन्ने उनको नाम जुराइयो “सङ्गम” । कोही पुजारी वा ज्योतिष नभएपछि गणेश थाप्नुको विकल्प नै थिएन ।

सङ्गम, अर्थात अस्ट्रेलियामा जन्मेको पहिलो नेपाली । यहाँ हुर्कदै गरेको नेपाली समाजको पुस्ताको कुरा गर्ने हो भने उनी दोश्रो पुस्ताको पहिलो नेपाली हुन् । तर, यही माटोमा जन्मेको नेपाली पुस्ताको कुरा गर्ने हो भने चाहिँ उनी नेपालीमूलको पहिलो पुस्ताको पहिलो नेपालीज अस्ट्रेलियन हुन् ।

अस्ट्रेलियामा जन्मेको पहिलो नेपाली सङ्गमले सानो पारिवारिक जमघटबीच आफ्नो ४६ औ जन्म दिन मनाउदै छन् । उनको जन्मदिनको पूर्वसन्ध्यामा बुधवार साँझ हुने सानो जमघटमा अस्ट्रेलियामा हुर्कदै गरेको तीन पुस्ताको उपस्थिति हुनेछ ।

उनका मातापिता, भाइबुहारी र भतिजाभतिजी पुस्ता । हिसाब गर्ने हो भने अस्ट्रेलियामा नेपाली पाइला टेकिएको आधा शताब्दी हुदै गर्दा यहाँको माटोमा नेपाली सँस्कृतिक समुदायको नाभी गाडिएको ४६ बर्ष पुरा भएको छ । अस्ट्रेलियालाई आफ्नो मातृभूमि भन्न पाउने नेपालीको आधिकारिक इतिहास १९ अगस्ट १९७४ बाट सुरु भएको पाइन्छ ।

पहिलो जन्मदिन

संगमको पहिलो जन्मदिन मनाउँदा नेपालीमूलकी एक भारतीय महिला र उनका भारतीयमूलका श्रीमान सहभागी भएको उनका मातापितालाई सम्झना छ । त्यो दम्पति पनि प्रथम सगरमाथा आरोही हिलारीको सहयोगमा उनका मातापिताको सम्पर्कमा आएको थियो ।

नाबालक संगम प्रधान , जन्म १९७४

त्यो दम्पति थियो – श्रीमती रूथ भेल र उनका श्रीमान् ज्यो भेल । १९७४ को डिसेम्बरमा मेलबर्न एज पत्रिकामा हिलारीले सोलुखुम्बुमा बिद्यालय बनाउन नेपाल सम्बन्धी प्रदर्शनी आयोजना गरेको सूचना थियो । प्रदर्शनी सकिनु जम्मा दुई घण्टाअघि थाहा पाएर सङ्गमका मातापिता त्यो प्रदर्शनी हेर्न गएका थिए ।

उनीहरुले प्रदर्शनीको काउन्टरमा कोही नेपाली आएको थियो कि भनेर सोधिखोजी गरे । त्यस्तै सोधिखोजी गर्ने अर्को एक दम्पतिले सम्पर्क नम्बर छोडेका रहेछन् । त्यही साँझ सङ्गमका मातापिताले त्यो जोडीलाई टेलिफोन गरे र नेपालीभाषी अर्को परिवार फेला पारे – रुथ दम्पति । सङ्गमको पहिलो जन्मदिनमा यी दुबै दम्पति जुटे ।

यो दम्पति सिड्नी सर्यो

बिदा मनाउन सिड्नी आएका सङ्गमका मातापितालाई १९७६ मा सिड्नीले आकर्षित गर्यो । एसियन स्वादका मसला पाइने सिड्नीको एक दोकानबाट उनीहरुले मसला किनेर मेल्बर्न लगे ।

अस्ट्रलियामा पहिलो पुस्तका प्रधान दम्पती

मेलबर्न त फर्के तर उनीहरूको मन सिड्नीले तानिसकेको थियो । नेपालीको छिट्फुट चहलपहल पनि उनीहरूलाई सिड्नीमा तान्ने कारण थियो ।

१९७७ मा यो दम्पतीलाइ दोश्रो पुत्र लाभ भयो । त्यसको अर्को वर्ष अर्थात सन् १९७८ मा दुई अस्ट्रेलियन छोरा लिएर उनीहरू सिड्नी सरे ।

पहिलो नेपाल यात्रा

अब कुरा सुरु हुन्छ सङ्गमको । उनलाई ताजा स्मरण छ, सन् १९८२ को पहिलो नेपाल यात्राको । नेपालीको बाक्लो उपस्थिति नै नभएको बेला अस्ट्रेलियामा हिन्दू विधिअनुसार व्रतबन्ध गर्ने गराउने कोही पनि भएन ।

त्यही बहानामा उनको पहिलो नेपाल यात्रा जुर्यो । त्यतिबेला उनकी हजुरआमा पूर्वी नेपालको सुन्दर पहाडी बस्ती सङ्गै जोडिएको एक भारतीय बस्तीमा थिइन् । त्यही उनको ८ वर्षको उमेरमा नेपाली संस्कार अनुसार ब्रतबन्ध भयो । व्रतवन्ध उनका चार वर्षीय भाइको पनि सँगै भयो ।

व्रतवन्धका कारणले त नेपाल सम्झन्छन् नै सङ्गम । दार्जिलिङको चौरस्तामा घोड चढेको सुन्दर याद पनि उनको सम्झनाको डिलबाट झरेको छैन ।

नेपालमा ट्रेकिङ उनको मुख्य रहर

सङ्गमलाई नेपालका हिमाल, पहाड र बनकुञ्जमा ट्रेकिङ गर्न खुब मन पर्छ । उनी लण्डन बस्दा नेपाल गएर घुमफिर गरेर मात्र सिड्नी फर्कन्थे ।

दोश्रो पटक उनी २०५७ सालमा नेपाल भ्रमणमा गए । त्यो भ्रमणको सम्झना गर्दै उनी भन्छन्- ‘बच्चा हुँदा र युवा भैसकेपछिको नेपाल भ्रमणको फरक फरक अनुभूति छ म सँग । नेपाल बास्तव मै सुन्दर छ, आफ्ना पुर्खा नेपाली हुनुमा मलाई निकै गर्व छ ।’

उनलाई नेपालमा सबैले सबैलाई चिन्ने र सबैले सबैको हेरचाह गर्ने कुरा अनौठो लाग्यो । हामी नेपाली सबैले सबैलाइ माया र केयर गर्छौ कस्तो राम्रो । यसमा उनी सद्रभाव र प्रेम प्रकट भएको देख्छन् ।

Sangam Pradha Fierst Born Nepalese in Australia
आफ्ना भाइसँग नेपाली पाेशाकमा संगम प्रधान

उनी सन् २०११ , २०१४ र २०१७ मा पनि नेपाल घुम्न गए । त्यस क्रममा उनी पोखरा, चितवन, मुस्ताङ, सगरमाथा आधारशिविर पुगेका छन् । काठमाडौं त गेट नै भैहाल्यो ।

पछिल्लो भ्रमणमा त उनि काठमाडौं पोखरामा साइकल यात्रा पनि गरे । बाटोमा भूकम्पले भत्केका बस्ती हुदै जाँदा उनको मन दुखिर्ह्यो । ‘तर अहिले पुनर्निर्माण पनि भैरहेको छ ‘ उनले बन्दै गरेका बस्तीहरू सम्झिदै भने ।

पोखराको फेवातालमा बोटिङ, बेग्नास र रुपातालको घुमघाम, अर्न्न्पुर्ण सर्किटको यात्रा, मुक्तिनाथ मन्दिर दर्शन र त्यहाँका धारामा चिसो हिमाली मुलपानी छोएको उनलाई अहिले पनि ताजा सम्झना हुन्छ ।

नेपालका निकुन्जमा उनको बाघ , हात्ती र गैडासँग चिनजान भयो । उनी भन्छन् – हाम्रो नेपाल प्रकृतिको कति सुन्दर वरदान , हाम्रो फन्ना र फ्लोरा अझै राम्रो र बिबिधतापूर्ण ।

लालीगुराँसकाे रङ अनि सारङ्गी र बाँसुरीको धुन

उनी प्रकृति प्रेमी छन् । नेपालका हिमाली भेगमा यात्रा गर्दा जङ्गलै भरिएको लालिगुराँस अनि त्यही गुराँसको रङमा राताम्य भएका पर्वतले उनलाई अचम्मित बनाउँछन् । चराचुरुङ्गीको आवाज पनि उनलाई त्यत्तिकै कर्णप्रिय लाग्छ । भन्छन – ‘नेपालको हिमाली हावापानी स्वस्थ छ ।’

उनी प्रकृतिसँगै नेपाली लोकसङीतलाई पनि निक्कै माया गर्छन । ‘ मलाई बासुरी र सारङ्गीको धुन निक्कै मन पर्छ, म लोकगीतको सबै अर्थ बुझ्दिन तर मिस्मास गरेको होइन सक्कली लोकगीत मन पर्छ ।’ उनी आफ्नो नेपाली सङीत प्रेम ब्यक्त गर्छन । उनलाई नेपाली समाजको विशेष अबसरमा नेपाली पोशाक दौरासुरुवाल र टोपी लगाउन मन पर्छ ।

पछिल्लोपटक आफ्नो भाइको बिहेमा त्यो पोशाक लगाएको फोटो अल्बम देखाउँदै सङ्गम भन्छन – ‘हाम्रो नेपालीमा धेरै युनिक पोशाक छन , सबै पोशाकलाई माया गर्नुपर्छ । उनी नेपाली दालभात , अचार, सेलरोटी र मम पराउँछन ।

पछिल्लो पुस्ता भाग्यमानी

उनलाई अस्ट्रेलिया जन्मेको पछिल्लो पुस्ता भाग्यमानी लाग्छ । कम्तिमा नेपाली पढ्ने, लेख्ने अवसर छ । आफ्नो उमेर समुहका साथी पनि छन् । भन्छन् – ‘मेरो बेला म बाहेक स्कूलमा मेरो रङको कोही पनि थिएन । मैले भाषा सिक्ने अवसर नै पाइँन ।

छ महिना नेपाल बस्ने

उनको नेपाल गएर छ महिना पूरै बस्ने धोको छ । नेपालका बस्ती घुम्ने , बर्दिया निकुन्ज र त्यो भित्र बग्ने कर्णाली नदीमा जलबिहार गर्ने रहर छ । उनलाई पशुपतिनाथ र मुक्तिनाथ मन्दिर घुमेपछि बनारस पनि जान मन लागेको छ ।

र, अन्त्यमा

उनी हुन् सङ्गम प्रधान । उनका मातापिता डा. नारायण प्रधान र लिला प्रधान अस्ट्रेलियाका नेपालीबीच सुपरिचित नाम हो । हरेक नेपाली सामाजिक गतिविधिमा सधै अग्रणी रहने यो जोडीले अब अर्को नयाँ परिचय पनि पाउने छ । त्यो हो अस्ट्रेलियामा जन्मेका पहिलो र दोश्रो नेपालीको बा र आमा ।

(नेप्लिज अस्ट्रेलियन फिचर सेवाद्धारा प्रकासित  तथा सम्पादित सामग्रि । )