MENU

अस्ट्रेलियामा तीन चरणमा जनजीवन सामान्य तर्फ फर्काउने लक्ष्य

Source AAP

क्यानवेरा,  कोरोनाभाइरस महामारीका कारण करिब ६ हप्ता अगाडी सुरु गरिएका सामाजिक प्रतिबन्धहरू, सङ्क्रमण दर घट्दै गर्दा क्रमिक रूपले खुकुलो बनाउने घोषणा शुक्रवार बसेको अस्ट्रेलियाको राष्ट्रिय मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

आगामी दुई महिनामा तीन चरण गरेर सामाजिक बन्देजहरू हटाउने मार्गचित्र माथि शुक्रवारको राष्ट्रिय मन्त्रिपरिषद् बैठकमा छलफल भएपछि प्रधानमन्त्री मरिसनले क्यानबेरामा आयोजित एक पत्रकार सम्मेलन मार्फत उक्त घोषणा गरेका हुन्।

घोषणामा घर बाहिर हुने १० जनासम्मको सामाजिक भेलाहरू माथि लागेको प्रतिबन्ध सबैभन्दा पहिले हट्ने उल्लेख छ। प्रतिबन्धहरू हट्दै गर्दा खुद्रा व्यापार पुनः सुचारु हुने र त्यसका साथ-साथै राज्यको एक स्थानबाट अर्को स्थानसम्मको आवतजावतमा पनि सहज हुने प्रधानमन्त्री स्कट मरिसनद्वारा शुक्रवारको गरेको घोषणामा उल्लेख छ।

विशेष गरी भिक्टोरिया तथा न्यु साउथ वेल्समा नयाँ सङ्क्रमणका घटनाहरू सार्वजनिक हुँदै गर्दा अस्ट्रेलियाका अन्य भूभागमा सामाजिक प्रतिबन्धहरू बिस्तारै हट्ने क्रम सुरु भए पनि यी दुई राज्यहरूमा जनजीवन सहज हुन थप समय लाग्ने देखिएको हो।

पहिलो चरण

पहिलो चरणमा मानिसहरूले पाँच जनासम्म पाहुनाहरू आफ्नो घरमा बोलाउन सक्ने, घर बाहिर १० जनासम्मले भेला हुन पाउने, पुस्तकालयहरूको पुनः खोल्ने, सामुदायिक केन्द्रहरू, खेल मैदानहरू, पौडी पोखरी, शपिंग सेन्टर, क्याफे- रेस्टुरेन्टहरू पुनः खुल्नेछन्।

त्यसै गरी स्थानीय र क्षेत्रीय रूपमा गर्न मिल्ने यात्रा पनि पहिलो चरणको फुकुवामा परेका छन्।

दोस्रो चरण

दोस्रो चरणको प्रतिबन्ध फुकुवामा भने घर बाहिर जम्मा हुन सकिने सङ्ख्या अधिकतम २० जना तोकिएको छ। जिम, ब्यूटी स्यालन, सिनेमा घर, र सङ्ग्रहालयहरू सहित र केही अन्तर राज्य यात्रालाई पनि दोस्रो चरणको फुकुवामा प्रधानमन्त्रीले राखेका छन्।

तेस्रो चरण

तेस्रो चरणमा भने १०० जनासम्मको भेलालाई अनुमति दिइने बताइएको छ र जस अन्तर्गत फुड कोर्ट, नाइट क्लब, पब, र सौनाहरू जस्ता ठाउँहरूको पुनः खुल्नेछन्।

तेस्रो चरण अन्तर्गत सबै अन्तर्राष्ट्रिय यात्राको पुनः स्थापना र अस्ट्रेलिया एवं न्युजील्याण्ड बिच हुने भ्रमणहरू, र अन्तर्राष्ट्रिय विद्यार्थी यात्राको विचार गरिने पनि स्कट मरिसनले बताएका छन्।

मरिसनका अनुसार यो वर्षको जुलाई महिनासम्ममा यी तीन चरणहरू पार गरेर कोभिड सुरक्षित अर्थतन्त्र प्राप्त गर्नु उनको लक्ष हो। यी योजनाहरूको समीक्षा राष्ट्रिय मन्त्रिपरिषद्ले हरेक तीन हप्ताको अन्तरालमा गर्नेछ।

यी तिन वटै चरणमा अस्ट्रेलियालीहरूले भौतिक दुरी सम्बन्धी नियमहरूको पालना गर्दै, हात राम्ररी धुने र सन्चो नभएको खण्डमा घरमै आराम गरेर बस्नु जरुरी छ।