MENU

आफ्ना नागरिक स्वदेश लैजान नेपाल–अस्ट्रेलिया सिधा चार्टर्ड उडान

नेपाल वायुसेवा निगमको वाइडबडी (एयरबस ३३०) बुधवार साँझ अस्ट्रेलियाको ब्रिस्बन सहरका लागि उड्दै छ । इतिहासमै पहिलोपटक निगमको वाइडबडी चार्टर उडान मार्फत अस्ट्रेलिया जान लागेको हो।

नेपालस्थित अस्ट्रेलियाली दूतावासको पहलमा नेपालमा अलपत्र परेका करिब २ सय ६४ जना अस्ट्रेलियाली नागरिक लिएर एयरबस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलियाका लागि उड्ने भएको हो।

निगमले लामो दूरीको अन्तर्राष्ट्रिय उडानका लागि भन्दै खरिद गरेको दुई वटा ‘ब्राण्ड न्यु’ वाइडबडीमध्ये मकालु विमान (एलएलजेड) अस्ट्रेलियाको ब्रिस्बेन उड्न लागेको हो।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दिपु ज्वार्चनका अनुसार करिब १२ घण्टा ४० मिनेटको उक्त उडानमा २४ जना चालक दलका सदस्य रहनेछन्। उनका अनुसार ५ जना क्याप्टेन, एक जना कोपाइलट, १४ जना क्याबिन क्रु, २ जना इन्जिनियर र एक–एक जना फ्लाइट डिस्पाचर र लोड मास्टर्ड रहनेछन्। काठमाडौंबाट मलेसियाको क्वालालम्पुरमा इन्धन राखेर विमान अष्ट्रेलिया लाग्नेछ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले बुधबार साँझ अस्ट्रेलियाको ब्रिस्बेनमा उडान भरेको निगमको एयरबस बिहीबार राती ११ बजे काठमाडौं अवतरण हुने जानकारी दिए। ‘हामीलाई निगमले दिएको जानकारी अनुसार बिहीबार राति ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्नेछ, उनले भने।’