MENU

३१ हजार नेपाली स्वदेश फर्किए, उद्दार उडान थप प्रभावकारी बनाईने

काठमाडौं, नेपाल ।

नेपाल सरकारले धेरै नेपाली रहेको देशमा उद्दार उडानलाई थप प्रभावकारी बनाउने भएको छ ।

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसी निर्देशक समितिले, धेरै संख्यामा नेपाली रहेका देशहरुको उद्धार उडानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ।

आइतबार सिंहदरबारमा बसेको सिसिएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए।

धेरैजना श्रमिकहरु आउन बाँकी रहका मुलुकहरुबाट श्रमिकहरु ल्याउनलाई हवाई उडान प्राथमिकीकरणमा राख्ने निर्णय भएको समितिका सदस्य सचिवसमेत रहेका गुरागाईंले बताए ।

सरकारको अनुमानमा अझै ५० हजार नेपाली स्वदेश फर्काइहाल्नुपर्ने अवस्थामा छन् ।

३१ हजार नेपाली स्वदेश फर्किए

सरकारले चार्टर्ड उडान सुरु गरेयता हवाईमार्गबाट झण्डै ३१ हजार नेपाली स्वदेश फर्किएका छन् ।

सरकारी तथ्यांकअनुसार १९९ वटा फ्लाइटबाट ३० हजार ९४० नेपाली स्वदेश फर्किएका छन्।

सबैभन्दा धेरै यूएईबाट ७ हजार १९६ जना नेपाली स्वदेश फिर्ता भएका छन् । कुवेतबाट ५ हजार ५४९ जना र साउदी अरेबियाबाट ५ हजार ५५ जना फर्किसकेका छन् ।

कतारबाट ३ हजार ३२९ र मलेसियाबाट ३ हजार २ सय २६ नेपाली स्वदेश आएका छन् । बहराइनबाट ९८०, बंगलादेशबाट ८४१, जापानबाट ७५६, माल्दिभ्सबाट ७०९, अष्ट्रेलियाबाट ६३४ जना नेपाली चार्टर्ड उडानको टिकट काटेर फर्किएका छन् ।

ओमानबाट ४९२, दक्षिण कोरियाबाट ४७६, अमेरिकाबाट ४२३, थाइल्यान्डबाट ३२६, बेलायतबाट २२९ जना नेपाली स्वदेश फिर्ता भएका छन् ।

त्यस्तै सिंगापुर, इजरायल, फिलिपिन्स, चीन, अफगानिस्तान, म्यान्मार, श्रीलंका, हङकङ, पाकिस्तान र टर्कीबाट पनि नेपालीहरु फर्किएका छन् ।

२९ हजार आफ्नै खर्चमा

अहिलेसम्म करिब २९ हजार नेपाली आफ्नै खर्चमा स्वदेश फर्किएका हुन् भने कुवेतले २ हजारभन्दा बढी नेपालीलाई उसकै खर्चमा फिर्ता ल्याइदिएको छ ।

सरकारले जेठ २३ गतेबाट ‘उद्धार उडान’ सुरु गरेको थियो ।