MENU

एक सय भन्दा बढी मुलुकका नेपालीमा कोरोनाको सङ्क्रमण, प्रवासमा आठ नेपालीको मृत्यु

कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुक बाहिर रहेका नेपाली पनि प्रभावित भएका छन् ।

हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स .युएई) मा एक नेपालीको ज्यान गइसकेको छ । १०० भन्दा बढी नेपाली विभिन्न मुलुकमा कोरोनाको सङ्क्रमणमा परेका छन् ।

अध्यन र राेजगारिकाे लागि अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान लगाएत यूराेपका देशहरूमा रहेका नेपालीहरू पनि काेराेनाकाे संक्रमणमा परेका छन् ।

अस्ट्रेलियाका नौ जना नेपालीमा कोरोना संक्रम

करिब ६ हजार अस्ट्रेलियनमा कोरोना संक्रमण देखिँदा जम्मा नौ जना नेपालीमा पनि देखिएको छ । तर, सबैको अवस्था सामान्य छ ।

चार जना त सञ्चो भइसकेका छन् । अस्ट्रेलियामा नेपाली समुदायका मानिसहरु प्रायः अत्यावश्यक सेवामा कार्यरत छन् । हजारौंको संख्यामा नर्सिंग, बृद्धबृद्धा स्याहार केन्द्रहरु तथा सरसफाई सेवामा छन् । हजारौं अहिले पनि सार्वजनिक यातायातको प्रयोग गर्छन् । उनीहरु अहिले कोरोना जस्तो महामारीको संक्रमणको जोखिममा हुनसक्छन् ।

अस्ट्रेलियामा कोरना बारे जनचेतनाकाेलागि नेपाली भाषामा प्रकासित पोस्टर

अस्ट्रेलिया सरकारले कुनैपनि खालको बिसञ्चो महसुस भएमा घरबाहिर ननिस्कन भनेको छ । कोरोना संक्रमणको आशंका भएमा तुरुन्त सम्पर्क गर्न पनि भनेको छ । जसको परीक्षण तथा उपचार नि:शुल्क हुने भएकाले आर्थिक बोझको चिन्ता वा बीमा झन्झटको चिन्ता कसैले पनि मान्नुपर्ने छैन ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलिया तथा नेपाली दूतावास क्यानबेराको एक संयुक्त तथ्यांकअनुसार अस्ट्रेलियामा अहिले चार सय ८७ जना नेपालीहरु एकान्तवास(आइसोलेसन) मा छन् । जसमा तीन सय १९ जना पुरुष र एक सय ६८ जना महिला छन् । उनीहरुमध्ये चार सय ३० जना हालसालै नेपालबाट आएका र ५७ जना अस्ट्रेलियामा नै कोरोना संक्रमितसँग निकट सम्पर्कमा पुगेको आशंका गरिएकाहरु छन् ।

एकान्तवासमा भएकामध्ये चार सय ८१ जना २० वर्षदेखि ४० वर्षसम्मका छन् । ६० वर्ष तलका जम्मा ६ जना छन् । यो तथ्यांकमा एक सय दुई जनालाई गैरआवासीय नेपाली संघका विभिन्न राज्य समितिहरुले खाद्यान्नदेखि अत्यावश्यक वस्तुहरु किनिदिएर सहयोग गरेकाछन् ।

साउदी अरेबियामा चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि

नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमण भएकामध्ये तीनजना निको भई काममा फर्किएका रियादस्थित नेपाली दूतावासले जनाएको छ । अन्य एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

निको भएर काममा फर्किएका नेपालीसँग नियमित सम्पर्कमा रहिरहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार उनीहरुबाहेक थप नेपालीमा कोरोना सङ्क्रमण भएको जानकारी प्राप्त भएको छैन ।

साउदी अधिकारीहरुले जारी गरेको तथ्याङ्कअनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई हजार ९३२ पुगेको दूतावासले जानकारी दिएको छ । साउदीले कोरोनाको सङ्क्रमण फैलन नदिन मुलुकभर कर्फ्यु लगाएको छ ।

दूतावासले विदेशी नागरिकसँग काम गर्दा, हिँड्डुल, उठबस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्न तथा एकअर्काबीच दूरी कायम गर्न त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेको छ । साउदीमा दुई लाखभन्दा बढी नेपाली कार्यरत रहेको बताइन्छ ।