MENU

एनआरएनए अष्ट्रेलियाले कोरना भाइरसका कारण प्रभावित बिधार्थी र अभिभाबकहरुलाई सहयोग गर्ने

बिश्वब्यापी प्रकोप बनेको कोरना भाइरस (Covid -19) ले अष्ट्रेलियालाई पनि प्रभावित पारिरहेको सन्दर्भमा एनआरएनए अष्ट्रेलियाले अन्तराष्ट्रिय बिधार्थीका रुपमा यहाँ अध्यानरत बिधार्थीहरु लाई संस्थागत रुपमै सहयोगको हात बढाएको छ । हालै बसेको एनआरएनएअष्ट्रेलिया र समुदायका अगुवाहरु को एक बिशेष छलफलले कोरना भाइरसका कारण प्रभावित हालै अष्ट्रेलिया आएका बिधार्थी र अभिभाबकहरु लाई सहयोग गर्ने निर्णय गरेको हो । एनआरएनए अष्ट्रेलियाका प्रबक्ता नन्द गुरुङ्गले एक प्रेस बिज्ञप्ति मार्फत छलफलको निर्णय सार्बजनिक गरेका छन्।

बिज्ञप्तिका अनुसार सबै राज्यहरुमा एनआरएनए राज्य समितिका संयोजकसंग को समन्वयमा सबै राज्यमा टास्कफोर्स गठन गरिनेछ। राष्ट्रिय स्तरमा उक्त टास्कफोर्सलाई एनआरएनए अष्ट्रेलियाका पब्लिक अफिसर कोमलराज पाठकले समन्वय गर्नेछन् । एनआरएनए अष्ट्रेलियाको फेसबुक पेज र हेल्प लाइनलाई सक्रिय गराईने छ जसको प्रमुख जिम्मेवारी प्रबक्ता नन्द गुरुङ्गलाई दिइएको छ।

यसै गरि स्वागतयोग्य निर्णयको रुपमा आउने २३ मार्चबाट लागु हुने गरि एनआरएनए अष्ट्रेलियाले माथि उल्लेख गरिएका बिधार्थीहरु लाई ३० दिन सम्मको लागि खाध्य सामग्रीहरु को सहयोग गर्नेछ । यस्ता सहयोग अति अबश्यकिय बिधार्थी वा अभिभाबकलाई पुगोस भन्ने हेतुले एनआरएनए अष्ट्रेलियाले केहि मापदण्ड निर्धारण गरेको छ, जुन निम्न छन्।

– हालसालै मात्र अष्ट्रेलिया आएको हुनु पर्ने

-कुनै रोजगारीको अबसर नजुटेको

-कोरना भाइरसका कारण सेल्फ आईसोलेसनमा रहेको

-अष्ट्रेलियामा नजिकको नातेदार वा परिवार नभएको

-यी जनाकारी नेपाल दूतावास वा वाणिज्य दूतावासको कार्यालयलाई गराएको

त्यसै गरि अन्य नेपाली समुदायका सदस्यहरू को हकमा भने सेल्फ आईसोलेसनमा रहेको र गम्भीर आर्थिक कठिनाइ भोगी रहेकाहरु का लागि १५ दिनका लागि खाध्य सामग्रीहरु को सहयोग गर्ने पनि एनआरएनए अष्ट्रेलियाले निर्णय गरेको छ।

२३ मार्चबाट लागु हुने यो सहयोगलाई कसरि कार्यन्वयन स्तरमा सकारात्मक र प्रयोगात्मक बनाउने भन्ने हेतुले एनआरएनए अष्ट्रेलियाको मातहतमा रहने National crisis forum ले नेपाली दूतावास, बाणिज्यदुत र माहाबाणिज्यदुतका कार्यलय, अष्ट्रेलियाका सबै नेपाली समुदायका संघ संस्थाहरु, ब्यापारिक समुदायका सदस्यहरु सँग एउटा छुट्टै छलफल गर्नेछ । जसको निचोड अनुसार रहात प्याकेजको काम अगाडी बढ्ने एनआरएन अष्ट्रेलियाका अध्यक्ष केशब कडेलले बताए ।

कडेलका अनुसार अहिलेको हाम्रो कदम कुनै पनि बिधार्थी वा नेपाली समुदायको सदस्य यो अप्ठ्यारो परिस्थितिमा आफुलाई एक्लो र अभिभाबक बिहिन महसुस नगरुन भन्ने हो । यो विषम परिस्थितिमा यो सहयोग सानो देखिए पनि यसले बिधार्थी वा नबआगन्तुकका लागि ठुलो आत्मबल प्रदान गर्न सहयोगी हुने पनि कडेलले बताए । यस सम्बन्धि थप जनाकारी चाहिएमा २३ मार्चबाट खुल्ला रहने हेल्प लाईन 1800 954 540 मा सम्पर्क गर्न पनि सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

समाचार साभार नेपाली टाइम्स अष्ट्रेलिया