MENU

एसइई परीक्षा आन्तरिक मूल्याङ्कनलाई मान्यता दिन कार्यदलको प्रस्ताव

काठमाडौं, नेपाल ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले, कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा ग्रेड निर्धारण गर्ने सुझाव सहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ ।

मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार आन्तरिक मूल्याङनसहित, अबदेखि कक्षा १२ मा मात्रै सो परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरिएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता एवं सुझाव कार्यदलका संयोजक दीपक शर्माले विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिन तथा हाललाई आन्तरिक मूल्याङन गर्ने वा प्रदेशगतरुपमा परीक्षा लिने जस्ता विकल्पसहित प्रतिवेदन बुझाएको जानकारी दिनुभयो ।

सो विकल्प र प्रस्तावबारे मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार कार्यान्वयन गरिने उहाँले बताउनुभयो । सुझावमा हरेक विकल्पको सम्भावना, चुनौती र अवसरबारे समेत विवेचना गरिएको जनाइएको छ ।

विभिन्न तीन विकल्प दिइ बुधबार अन्तिमरुप दिइएको सो प्रस्ताव अब बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने तयार गरिएको हो ।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

सरकारले कोरोना जोखिमका कारण स्थगित गरिएका माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) र कक्षा ११, १२ का परीक्षालाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्नेबारेमा अध्ययन गर्दै रहेको थियो ।

कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो ।