MENU

कर्मचारी आन्दोलनले बन्द हायातको सेयर कारोबार सबैभन्दा बढी, बजार पुनः झर्‍यो

साताको तेस्रो कारोबार दिन सेयरबजार पुनः घटेको छ। मंगलबार २.२३ अंकले बजार मापक अंक घटेर १२५८.६६ मा सूचक रोकिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सिटिभ भने आज शून्य दशमलव शून्य तीन अंकले हरियो छ। आज १ सय ७७ कम्पनीको १२ लाख २६ हजार कित्ता सेयर किनबेच भए पनि कारोबार रकम झन तल झरेको छ।

नेप्सेका अनुसार आज ५ हजार ४ सय ७ पटकको कारोबारबाट ३५ करोड ९४ लाखको मात्रै सेयर खरिदबिक्री भएको छ। आज सेयरबजारमा कुल ११ समूहका कम्पनीको कारोबार भएको थियो। जसमध्ये होटल, ऊर्जा, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, अन्य, जीवन बीमा र म्युचुअल फण्डको कारोबार सूचक रातो हुँदा वाणिज्य बैंक, विकास बैंक र माइक्रोफाइनान्सको कारोबार सूचक हरियो भएका छन्।

आज कारोबारका हिसाबले तारागाउँ रिजेन्सी होटल लिमिटेडको सबैभन्दा बढी ४ करोड २४ लाखको सेयर प्रतिकित्ता ३ सय १२ रुपैयाँमा किनबेच भएको छ। विगत छ दिनयता बन्द होटल बन्द रहे पनि नेपाल स्टक एक्सचेन्जमा भने कम्पनीको कारोबार भइरहेको छ। त्यसपछि एनआईसी एसिया बैंकको २ करोडको, शिवम् सिमेन्टको १ करोड ९४ लाख, नेपाल बैंक लिमिटेडको १ करोड ८९ लाख, प्रभु बैंकको १ करोड ५७ लाख, एनसीसी बैंकको १ करोड, कृषि विकास बैंकको ९६ लाख, सिद्धार्थ बैंकको ९० लाख र माथिल्लो तामाकोशी ८७ लाख ५२ हजारको सेयर कारोबार भएको छ।

कमाउने कम्पनीमा भने आज गुराँस लघुवित्त वित्तीय संस्था अगाडि छ। यस कम्पनीका सेयरधनीले २५ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै, गणपति माइक्रोफाइनान्सका सेयरधनीले पनि २० रुपैयाँ आम्दानी गरेका छन् भने नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १८ रुपैयाँ कमाएका छन्। रकमका हिसाबले आज नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ६३ रुपैयाँ कमाएका छन्।

गुमाउनेमा भने आज समता माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ। यसका लगानीकर्ताले प्रतिसेयर ६६ रुपैयाँ गुमाएका छन्। त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका सेयरधनीले ६ रुपैयाँ गुमाउँदा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताको ४७ रुपैयाँ गुमेको छ।