MENU

काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ

सरकारले काठमाडौँ उपत्यका प्रवेशमा थप कडाइ गरेको छ ।

बुधबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नगर तथा महानगरपालिकाका प्रमुखलगायत सुरक्षा अधिकारीबीच भएको छलफलपछि गृहमन्त्रालयले कोभिड–१९ को संक्रमण रोक्न अत्यावश्यक कामबाहेक उपत्यका आवागमन पूर्ण सिल गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा परिपत्र गरेको छ ।

यसअघि गरेको निर्णय कार्यान्वयन गर्दै उपत्यकामा हुने आवागमनमा थप कडाइ गर्ने र अत्यावश्यकबाहेकको आवतजावतलाई पूर्ण रोक्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

स्थानीय तहसँगको समन्वयमा सबै सुरक्षा निकायले उपत्यका प्रवेश नाकाको जाँच र निगरानीमा थप कडाइ गर्ने पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।