MENU

किम जोङ उन जिउँदै र ठिक छन्ः दक्षिण कोरिया

उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यका बारेमा विभिन्न अड्कलबाजी भइरहेका बेला दक्षिण कोरियाले उन जिउँदै र ठिक रहेको बताएको छ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनका विदेश मामिला सल्लाहकार मुन चुङले सीएनएनसँग भनेका छन्, ‘किम जिउँदै छन् र ठिक छन्। उनी अप्रिल १३ देखि ओनसान क्षेत्रमा बसिरहेका छन्। कुनै पनि शंकास्पद मुभमेन्ट देखिएको छैन।’

अप्रिल १५ मा किम उनका हजुरबा किम इल सुङको जन्मदिनमा नदेखिएपछि उनको स्वास्थ्यलाई लिएर प्रश्न उठिरहेको छ। उत्तर कोरियाका सबैभन्दा ठूला नेता मानिन्छन् सुङ। गत शनिबार उत्तर कोरियाली सेनाको स्थापना दिवसमा पनि उनी सहभागी नभएको समाचार सार्वजनिक भएको छ।

गत साता एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले किमको सर्जरी गरिएको र उनको स्वास्थ्य स्थिति नाजुक रहेको बताएको थियो। अत्यधिक धुम्रपान, मोटोपना र अधिक कामका कारण किमलाई मुटुको समस्या भएको बताइएको थियो।

दक्षिण कोरियाको राजधानीबाट सञ्चालिच डेली एनकेको एक रिपोर्टमा किम प्योङयाङको उत्तरी क्षेत्रको रिसोर्ट काउन्टी अफ ह्याङसनमा उपचाररत रहेको बताएको थियो। अप्रिल १२ मा किमको मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको अवस्था बिग्रेको अपुष्ट समाचार डेली एनएकेले प्रकाशित गरेको थियो।

यसैबीच, किमले प्रयोग गर्ने रेलको स्याटेलाइट तस्बिर सार्वजनिक भएको छ। उत्तर कोरियाको पूर्वी किनारमा अप्रिल २१ देखि रेल पार्किङ गरेर राखिएको सीएनएनले उल्लेख गरेको छ।

उत्तर कोरियाले आफ्ना नेतृत्वको बारेमा एकदमै कम मात्रामा सूचना सार्वजनिक गर्ने गरेको छ। उत्तर कोरियामाथि जासुसी गर्ने दक्षिण कोरियाली खुफिया एजेन्सीले समेत मिश्रित प्रकारको सूचना प्राप्त गर्ने गरेको छ।