MENU

कोरोनाका कारण अमेरिकामा बेरोजगारको अवस्था दोस्रो विश्वयुद्ध यताकै खराब


कोरोना भाइरस महामारीका कारण अमेरिकामा बेरोजगारी दर १४.७ प्रतिशत पुगेको छ ।

गत अप्रिलमा २ करोडभन्दा बढी व्यक्ति बेरोजगार भएका छन् । महामारीका कारण त्यहाँ बेरोजगारीको अवस्था सन् १९३० पछिकै सबैभन्दा खराब स्थितिमा पुगेको छ ।

दुई महिनाअघि सम्म अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशत थियो, जुन विगत पचास वर्षमा सबैभन्दा कम हो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसंग कुरागर्दै अप्रिलमा बेरोजगार दर बढ्नुमा कुनै आश्चर्य मान्न नहुने त्यसको आकंलन पहिल्यै गरिएको बताएका छन्। यसअघि बेराजगारी दर बढ्ने पहिल्यै आशंका गरिएको तर भविष्यमा अर्थव्यवस्था मजबुत बन्दै जाने उनको दाबी छ।

अमेरिकी श्रम विभागको रिपोर्टअनुसार सबैभन्दा बढी प्रभावित हस्पिटालिटी क्षेत्रमा ७७ लाख जनाको रोजगारी गुमेको छ। त्यस्तै शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा करिब २५ लाख जनाको रोजगारी गुमेको छ ।

त्यस्तै खुद्रा बजार क्षेत्रमा २१ लाख मानिसहरुले रोजगारी गुमाएका छन् । विभागका अनुसार १ करोड ८१ लाख जनाको काम अस्थायी रुपमै समाप्त भएको बीबीसीले जनाएको छ ।