MENU

कोरोनाका कारण विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउन सुरु

PHOTO : Air Arabia @airarabiagroup

नेपाल सरकारले शुक्रबारदेखि, कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण समस्यामा रहेका नेपालीहरुको उद्दार गर्दैछ ।

विदेशमा रहेका तर कोरोना भाइरसका कारण गरिएको लक डाउन पछि नेपाल फर्किन नपाएका अत्यावश्यक कामका आम नागरिकलाई शुक्रबारबाट स्वदेश फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारले पहिलो चरणमा शुक्रबार संयुक्त अरब इमिरेट्स युएईको सारजहाबाट १ सय ५० जनाभन्दा बढी नागरिकलाई नेपाल ल्याउँदै छ ।

एयर अरेबियाको चार्टर फ्लाइटबाट नेपालीलाई स्वदेश फर्काउने तयारी पुरा भएको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुष्टि गरेको छ ।

पहिलो चरणमा श्रम करारका साथै प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामीको आगमनलाई प्राथमिकतामा राखिएको छ ।

त्यसैगरी आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई पनि स्वदेश फर्काउने प्राथमिकताको सूचीमा समावेश गरिएको छ ।

नेपाल आउने यात्रुबारे परराष्ट्र मन्त्रालयले अबुधाबीस्थित नेपाली दूतावाससँग समन्वय गरिसकेको जनाएको छ ।
विदेशबाट फर्किएका सबैलाई क्वारेन्टिनमा राखिनेछ । त्यसअघि उनीहरूलाई ल्याउनुअघि जहाँबाट आउने हो त्यही नै स्वास्थ्य परीक्षण गरिनेछ भने नेपाल आएपछि पनि फेरि स्वास्थ्य परीक्षण गरिनेछ।

४० हजारको हाराहारीमा विदेशमा रहेका नेपाली नागरिकले स्वदेश फर्कने इच्छा व्यक्त गरेको परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिए ।

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका विभिन्न स्थानमा विदेशबाट आउने नेपालीका लागि ‘होल्डिङ सेन्टर’को व्यवस्था भइसकेको नेपाल सरकारले जनाएको छ ।