MENU

कोरोनाबाट विदेशमा थप १६ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ ।

शनिबार साँझसम्म १४ देशमा १६० नेपालीको कोरोना संक्रमणका कारण निधन भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिले यो साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको जनाएको छ ।

कतारमा निधन भएका आठमध्ये छ जनाको निधनपछि कोरोना पोजेटिभ देखिएको र दुई जनाको निधन हुनुअघि कोरोना संक्रमण पुष्टि भएको र समितिले जनाएको छ ।

हालसम्म विभिन्न देशमा कूल ३० हजार ५७१ नेपाली संक्रमित भएको र तीमध्ये २८ हजार ६८१ जना संक्रमणमुक्त भएको सङ्घले जनाएको छ ।

यो साता भारत, साउदी अरेबिया, युएई र कुवेतमा मात्र थप ९५० नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित नेपालीमध्ये ९३ प्रतिशत निको भएका छन् ।

अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित सबै नेपाली संक्रमणमुक्त भएका छन् तर मध्यपूर्वका केही देशमा रहेका नेपालीमा भने अझै कोरोना भाइरसको संक्रमण नरोकिएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।