MENU

कोरोना कहर : एनआरएनले बनायो समिति

विश्वव्यापी प्रकोप बनेको नोभेल कोरोना भइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उच्चस्तरीय समिति गठन गरेको छ।

एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति गठन भएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए। संघको आइतवार बसेको पदाधिकारी बैठक निर्णय अनुसार सो उच्चस्तरीय समितिको सल्लाहकारमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा र पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधार रहेका छन्।

स्वास्थ्य क्षेत्रका विज्ञसहितको सो समितिका अन्य सदस्यमा डा. सञ्जिव सापकोटा (अमेरिका), डा. डोरन रसाइली (क्यानाडा), प्रोफेसर पदम सिम्खडा (युके), डा. रमेशकुमार खोजु (युके), डा. सन्तोष सापकोटा (अमेरिका), डा. सत्यमान राजभण्डारी (युके), डा. कुश श्रेष्ठ (अष्ट्रेलिया), डा. पुरु श्रेष्ठ (अमेरिका), डा. अलनी सुवेदी (पोल्याण्ड), डा. श्रवणकुमार मिश्र (नेपाल), डा. शक्ति चौरसिया (नेपाल), डा. हेमराज शर्मा (युके) र डा. हेमन्त दवाडी (नेपाल) रहेका छन्।

समितिले नेपाल सरकारसँग सहकार्य गरेर कोरोना भाइरसको महामारीबिरुद्ध लड्न संघले नयाँ समिति गठन गरेको अध्यक्ष पन्तले जानकारी दिए। सो समितिले देशमा आइपर्ने विपत्तिका बारेमा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायत, सचेतना मुलक सामाग्री तयार गर्ने अध्यक्ष पन्तले जनाए।

समितिले वैदेशिक रोजगारमा गएका नेपालीको सहयोगको लागि नेपाली भाषामा प्रचार सामाग्री तयार गर्ने, महामारीको अवस्थामा नेपाललाई सहयोग गर्न अन्तराष्ट्रिय सञ्जाल निर्माण गर्ने, तत्कालका लागि कोरानो संक्रमणविरुद्ध लड्न आवश्यक सामाग्री उपलव्ध गराउने, नीतिगत तहमा विदेशमा सिकेको ज्ञान र सिपलाई नेपाल सरकारसम्म पु-याउनेलगायतका विषयमा केन्द्रित रहेर काम गर्ने बताएको छ।

चीनमा महामारीको रुपमा फैलिएको नोवल कोरोन भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँग मातृभूमिलाई सहयोग गर्न एनआरएनएले समेत आफ्नो सक्रियता देखाएको हो। संघका विश्वभर ८१ देशमा राष्ट्रिय समिति रहेका छन्। संघले यसअघि आफ्ना शाखालाई नोवल कोरोन भाइरसको संक्रमण रोक्न र सजक हुन निर्देशन दिइसेको छ।

यसैबीच एनआरएनएले आगामी ३ महिनाभित्रका लागि तय भएका सबै औपाचारिक कार्यक्रम रद्द गरेको छ। संघका महासचिव डा. शर्माका अनुसार आइतबार बसेको पदाधिकारी बैठकले आगामी ३ महिनाभित्रका लागि तय भएका सबै कार्यक्रम रोक्ने निर्णय गरेको हो। ३ महिनापछि आयोजना हुने कार्यक्रमको अन्तरिक तयारी भने सकृय राख्ने निर्णय संघले गरेको छ। संघका आन्तरिक विषयमा छलफल गर्न अन्तराष्ट्रिय परिषदको बैठक अगामी २२ मार्चको लागि तय गरिएको संघले जनाएको छ।