MENU

कोरोना भाइरसबाट बच्न हाइड्रोक्सीक्लोरोक्वीन औषधि खाइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले, आफुले कोरोना भाइरसबाट बच्न औलोविरुद्ध प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्वीन औषधि खाइरहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले सोमबार रेस्टुरेन्ट व्यवसायीहरुसँगको बैठकमा आफुले झण्डै एक हप्तादेखि, दैनिक एउटा चक्कीका दरले यो औषधि सेवन गरेको बताएका हुन् । ७३ वर्षीय ट्रम्पले औषधि खानुअघि ह्वाइट हाउसका डाक्टरलाई सोधेको र इच्छा लागे खानुस भनेपछि खान थालेको तर्क गरेका छन् ।

वैज्ञानिकहरुले प्रभावकारिता पुष्टि नगरेको र गम्भीर ‘साइड इफेक्ट’ हुन सक्ने बताइरहेको हाइड्रोक्सिक्लोरोक्वीन औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

ट्रम्पले यस्तो भने पनि वैज्ञानिक तथा स्वास्थ्य अधिकारीहरुले यसको प्रभावकारिता पुष्टि नभएको र यो औषधि असुरक्षित हुन सक्ने बताइरहेका छन् ।

ह्वाइट हाउसका केही कर्मचारी र ट्रम्पकै नजिक रहेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिए पनि ट्रम्पले सोमबार पनि यो दाबी गरेका छन् कि आफूमा कुनै लक्षण देखिएको छैन ।

आफूले दैनिक रुपमा जिंक लिइरहेको र इन्फेक्सनबाट जोगाउने एन्टिबायोटिक एजिथ्रोमाइसिनको एक डोज पनि लिइरहेको ट्रम्पले बताए ।

यसैबीच, अमेरिकामा ९० हजार भन्दा बढीको मृत्यु, संक्रमितको संख्या १५ लाख नाघेको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९० हजार भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले अमेरिकामा कोभिड–१९ बाट अहिलेसम्म ९० हजार ३३८ जनाको ज्यान गएको जनाएको छ ।

संक्रमितको संख्या पनि १५ लाख भन्दा बढी पुगेको छ । अहिलेसम्म १५ लाख ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको जनाइएको छ ।