MENU

खुल्यो कोरोनाभाइरसको उद्गम स्थल वुहान सहर

विश्वव्यापीरुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणको उद्गम स्थल चीनको वुहान शहर खुलेको छ ।

कोरोनाभाइरसको महामारी सुरु भएको चीनको हुबे प्रान्तको वुहान सहरमा लगाइएको लकडाउन (बन्दाबन्दी) हटाइएको हो ।

संक्रमण फैंलिंदै गएपछि नियन्त्रणका लागि त्यहाँ करिब साढे दुई महिनाभन्दा बढी (२३ जनवरीदेखि) लकडाउन गरिएको थियो ।

मंगलबार चीनमा कोरोनाभाइरसको कारण मृत्यु हुनेको संख्या शून्य देखिएपछि लकडाउन हटाइएको हो ।

लकडाउन खुलेसँगै यातायातका साधनहरु चल्न थालेको र रेल स्टेशनहरुमा यात्रुहरुको भिड लागेको तस्वीर र समाचार चीनको समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको छ ।

स्मार्टफोनमा भएको स्वास्थ्यसम्बन्धी एप स्क्यान गर्दा ‘हरियो कोड’ देखिएकाहरु अब वुहान सहरबाट अन्यत्र जान पाउने बीबीसीले लेखेको छ ।

सिमित हवाइ सेवा पनि शुरु हुने भएको छ तर विद्यालयहरु भने अर्को सूचना जारी भएपछि मात्रै खुल्ने बताइएको छ ।

एक करोड १० लाख जनसंख्या भएको वुहानमा महामारी रोकथामका लागि विगतमा कहिल्यै नलगाइएको प्रतिबन्ध लगाउनु परेको थियो । व्यापार, व्यवसाय, यातायातदेखि मान्छेहरुको हिंडडुल गर्न पूर्णत रोकिएको थियो ।