MENU

गुडिरहेको बसभित्र किमकुमारीको सुन र नगद लुट्ने पक्राउ, फिर्ताको टुंगो छैन

काठमाडौं बुढानिलकण्ठस्थित हात्तिगौडामा बस्ने किमकुमारी गुरुङलाई जेठ २७ को त्यो घटना अझै झलझली सम्झना आउँछ। महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार भेटिएकी उनलाई लुटिएको आफ्नो साढे दुई तोलाको सुनको सिक्री र केही हजार रुपैयाँ भेटिने आशा छ। थाह पाउँदा–पाउँदै यात्रु भरिएको बसमा उनी लुटिएकी थिइन्।

उनले लुटने समुहका एक जनाको अनुहार प्रहरी सामु सनाखत गरेकी छन्। लुटिएको उनको धनमाल फेला परेको छैन्। किमकुमारी जेठ २७ मा बसुन्धरास्थित कान्तिपुर डेन्टल अस्पताल उपचारका लागि आएकी थिइन्। दाँतको उपचारपछि सधैँ झै उनी बुढानिलकण्ठ घर जान गाडी चढिन्। सार्वजनिक गाडीमा यात्रुको भिड थियो। उनी बसको एउटा छेउमा गएर उभिइन्।

त्यहीँबाट चारजना युवा पनि गाडी चढे। ती चारैजनाले किमकुमारीलाई चारैतर्फबाट घेरे। बस गुड्न थालेपछि ती मध्ये एउटा युवाले बोकेको कालो झोलाले किमकुमारीलाई धक्का दिइरहेका थिए। अन्य युवाले घेरिएकी किमकुमारीको शरीर छाम्न थाले।

‘एउटाले कालो झोलाले धक्का दिने, अर्काले पिठयुँमा छाम्ने गरिरहेको थियो,’ किमकुमारीले घटना विवरण सुनाइन्, ‘मैले के गरेको भनेर झर्किएपछि चारैजना ओर्लिए।’

उनीहरु किमकुमारीलाई गालीगर्दै ओर्लिए। उनीहरु बसुन्धरा र महाराजगञ्जबीचमा पर्ने पुल नजिक ओर्लिए। उनीहरु ओर्लिएपछि किमकुमारीले आफूले लगाएको सिक्री छामिन्। त्यो समुहले सिक्री थुतिसकेको रहेछ। बोकेको झोलामा रहेको केही रकम पनि त्यहाँ थिएन।

‘मैले जोडजोडले मेरो सिक्री लुट्यो भनेर कराउन थालेँ’ उनले भनिन् ‘गाडी स्टाफले महाराजगञ्ज प्रहरी कहाँ पुर्याइदिए।’ उनका अनुसार तत्काल महाराजगञ्ज प्रहरी उनलाई लिएर घटनास्थल पुग्यो। गाडी चालक र सहचालकसँग सोधपुछ गर्याे।

‘ती चारैजना ओर्लिएका ठाँउमा सीसीटीभी क्यामेरा रहेछ,’ किमकुमारीले भनिन् ‘अर्को दिशामा फर्काएर राखिएकोले देखिन सकेनँ।’ उनी आफू लुटिएकोमा पीडासँगै आफूजस्तै अन्य नलुटिउन् भन्ने चाहन्छिन्। ‘खोइ मेरो सामान त भेटिन्न कि तर अरुलाई यस्तो नहोस्’, उनको कामना छ।