MENU

चिडियाखानाको बाघमा सर्यो कोरोनाभाइरस संक्रमण

न्यूयोर्कस्थित ब्रोङ्स चिडियाखानाको बाघलाई कोरोनाभाइरस संक्रमण भएको छ। चार वर्षको पोथी मलायान बाघ नादियाको कोरोनाभाइरस परीक्षण रिपोट पोजेटिभ आएको हो।

नादियासहित चिडियाखानाका अन्य तीन बाघ र तीन सिंहलाई सुख्खा खोकी लागेपछि नादियाको परीक्षण गरिएको युएस डिपाटमेन्ट अफ एग्रिकल्चरलाई उधृत गर्दै सीएनएनले जनाएको छ। तीमध्ये नादिया सबैभन्दा बिरामी थियो।

जनावरमा चिडियाखानाका कर्मचारीबाट संक्रमण फैलिएको आशंका गरिएको छ। तर, चिडियाखानाका कर्मचारीमा भने भाइरस संक्रमण फेला परेको छैन।

जनावर संक्रमित भएपछि कर्मचारीलाई पनि उच्च सतर्कतामा राखेको चिडियाखानाले जनाएको छ। सबै कर्मचारीलाई निगरानीमा पनि राखिएको छ।

चिडियाखाना १६ मार्चदेखि बन्द छ। उक्त बाघले २७ मार्चदेखि बिरामीको लक्षण देखाएको थियो। चिडियाखानाका अन्य जनावरमा पनि संक्रमण फैलनसक्ने जोखिम बढेको भन्दै अमेरिकाका जनावर अधिकारकर्मीले चिन्ता जनाएका छन्।

यसअघि कोरोना भाइरसको संक्रमण हङकङका कुकुरमा पनि सरेको फेला परेको थियो। दोस्रोपटक भाइरस जनावरमा सरेको प्रमाणित भएको हो।