MENU

चीनका लागि राजदुतमा महेन्द्र पाण्डेको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ बिशेष समितिले चीनका लागि नयाँ राजदूतमा महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइ बिशेष समितिको आजको बैठकले सर्वसम्मत रुपमा पाण्डेलाई चीनका लागि नेपाली राजदूतका रुपमा अनुमोदन गरेको हो ।

पाण्डेले सुनुवाइका क्रममा नेपाल र चीनबीचको आर्थिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाउनु भएको थियो । गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका नेकपाका नेता पाण्डेलाई चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरिएको थियो।

संसदीय सुनुवाइ समितिले फागुन २८ गते पाण्डेविरुद्ध सार्वजनिक गुनासो तथा उजुरी आह्वान गरेको थियो। पाण्डेविरुद्ध कुनै पनि उजुरी परेन। समिति सचिवालयले कुनै पनि उजुरी नपरेपछि सोमबार बैठक बोलाएको हो।

संसदीय समितिबाट नाम अनुमोदित भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई राजदूतमा नियुक्त गर्नुहुनेछ । सरकारले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई सिफारिस गरेको हो ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएको नेपालमा पनि त्यसको त्रास बढिरहेका बेला पाण्डेलाई राजदूतका रूपमा चीन पठाउन थालिएको हो। चीनले कोरोना संक्रमणविरुद्ध लड्न नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेको छ। त्यसका लागि समन्वय गर्न पाण्डेलाई छिटो चीन पठाउने योजनासहित आज नाम अनुमोदन गरिएको हो ।