MENU

जुलाई ३० मा अस्ट्रेलियाबाट अर्को चार्टर्ड उडान हुँदै; भाडा सस्तो हुने दाबी

सिड्नी । नेपाल फर्कन चाहने बाँकी यात्रुहरुका लागि जुलाई ३० मा सिड्नीबाट फेरी चार्टर्ड उडान हुने भएको छ । आगामी बिहीवार बिहान सात बजे एक सय ६० यात्रुहरु सहित मालिन्डो एयरको बिमानले ईण्डोनेसियाको बाली, कोललम्पुर हुँदै काठमाडौंका लागि उडान भर्ने तालिका रहेको छ ।

सो उडानको कन्फर्मेशनका लागि यात्रुहरुले आईतबार बिहान ईमेल प्राप्त गर्ने गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले जनाएको छ । यात्रुहरुले बिहान सात बजेको उडानका लागि चार बजे नै एयरपोर्ट पुगिसक्नुपर्ने छ ।  १६० सिट क्षमताको उक्त बिमानमा १ सय ४८ इकोनोमी र १२ वटा बिजनेश क्लासका सिट रहेका छन । बिजनेश क्लासका सिटमा जान चाहने यात्रुहरुले चार सय बढी भाडा अर्थात १६ सय युएस डलर तिर्नुपर्ने छ ।

सिंगापुर भन्दा मालिन्डो एयर सस्तो

यसअघि  सेमी चार्टर्ड उडानका लागि  यात्रुहरूले तिरेको १७ सय ५०  अस्ट्रेलियन डलर भाडा भन्दा मालिन्डो एयरमा जाने यात्रुहरुका लागि केही डलर कमहुने गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलले बताए । तर, डाईरेक्ट चार्टर्ड भएका कारण उडान खर्च चुक्ता गरेपछि बाँकी रहेको रकम यात्रुहरुलाई बराबर फिर्ता गरिने कंडेलले जानकारी दिए ।

टिकटको पैसा फिर्ता लिदै यात्रु

जहाजको सिट क्षमताका कारण बिहीवारको उडानमा टिकट लिएका मध्ये १ सय ९० जनाले भने फर्कन पाउने छैनन । त्यसैले कतिपय यात्रुहरुले अर्को चार्टर्ड उडानको टुंगो नभएपछि टिकटको पैसा फिर्ता लिन थालेका छन् । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको खातामा ३ सय ५० जना यात्रुहरुले नेपाल फर्कनका लागि टिकटको पैसा बुझाएका थिए । जस मध्ये ५० जना यात्रुले टिकटको रकम फिर्ताका लागि निवेदन दिएको संघका महासचिव डा ज्ञानेन्द्र रेग्मीले बताए ।

टिकटको पैसा फिर्ता लिन चहाने यात्रुहरुको सम्पर्क गर्नुहोला संघका अध्यक्ष कंडेल द्धरा जारी विज्ञप्तीमा भनिएको छ । पहिलो टिकट काट्ने र जानै पर्नेलाई आधार बनाएर यात्रु छनोट गरिएको एनआरएनएले जनाएको छ ।

अन्य राज्यका यात्रु अप्ठ्यारोमा

सस्तोमा चार्टर्ड उडान हुने भएपछि नेपाल फर्कन चाहने अस्ट्रेलियाका विभिन्न राज्यमा रहेका नेपालीहरुले टिकट बुकिङ्ग गरेका थिए । तर, कोरोना भाईरसको दोस्रो वेभ शुरु भएयता विभिन्न राज्यले सिमा बन्द गरेका सिड्नीबाट जहाज चढ्न सहज देखिदैन ।

कोभिड नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको नियमका कारण भिक्टोरियाबाट जहाज चढ्न आउने यात्रुहरुका लागि भने कठीन हुने छ । भिक्टोरियामा रहेर नेपाल फर्कनका लागि टिकट बुकिङ गरिसकेका यात्रुहरुका लागि भने मेलबर्न–काठमाडौ उडानका लागि फेरी पनि पहल गरिने संघका अध्यक्ष कडेलले जानकारी दिए । यद्यपी भदौ एकगते देखि नेपाल सरकारले अन्तराष्ट्रिय उडान खुला गरेको छ ।

पिसीआर रिपोर्ट अनिवार्य

बिहीवार उड्ने यात्रुहरुसंग एक हप्ता अघिको पिसीआर परीक्षर्ण गरेको रिपोर्ट हुनुपर्ने छ । चार्टर्ड उडानमा फर्कने यात्रुहरुलाइ नेपाल पुगेपछि  नेपाली सेनाकाे ब्यवस्थपनमा प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ्ग सेन्टरमा राखिने छ ।

उक्त होल्डिङ्ग सेन्टरमा ब्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पुरा गरी प्रदेशहरुको क्वारेन्टिनमा पठाईने छ ।

स्वदेश फर्कने क्रम जारी

यसैबीच काठमाडौं स्थित कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका अनुसार शनिवार फिलिपिन्सबाट ९० जना यात्रुहरु नेपाल फर्किएका छन्। हालसम्म २५ वटा देशबाट ३४ हजार ९ सय २० नेपाली स्वदेश फर्किसकेका छन ।