MENU

द भोइस अफ नेपाल सिजन–२ को घुम्ने मेचमा आस्था राउत र राजु लामा

हिमालय टेलिभिजनबाट प्रसारण हुने द भोइस अफ नेपाल सिजन–२ मा दुई जना कोच परिवर्तन भएका छन्।

सिजन–२ का लागि चर्चित गायक राजु लामा (मंगोलियन हर्ट) र लोकप्रिय गायिका आस्था राउत कोचका रुपमा भित्रिएका हुन्। उनीहरुसँगै दीप श्रेष्ठ र प्रमोद खरेलसहित ४ जना कोच यो सिजनका लागि अनुबन्ध भएका छन्।

‘युवा पुस्ताका चर्चित अनुहारहरुलाई हामीले कोचका रुपमा भित्राएका छौं’ कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिँदै भने, ‘नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाहरु जन्माउन उहाँहरुको योगदान महत्वपूर्ण हुनेछ।’

सिजन २ को ब्लाइन्ड अडिसनको सुटिङ आगामी बुधबारबाट सुरु हुँदैछ। झण्डै २३ हजार प्रतिभाहरुले डिजिटल अडिसनमा सहभागीता जनाएकोमा बिभिन्न छनौट चरण पार गरी एक सय भन्दा बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनका लागि चुनिएका हुन्। यसको प्रसारण साउन पहिलो साताबाट हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार साँझ ८ बजे हुनेछ।

प्रयोजकसँग सम्झौता
हिमालय टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको द भोइस अफ नेपाल सिजन–२ को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स अनुबन्ध भएको छ। सहप्रायोजकमा एनआइसी एशिया बैंक र आइएनजी ग्रुपले साथ दिएका छन्। भोटिङ तथा पेमेन्ट पार्टनरका रुपमा प्रभु–पे अनुबन्ध भएको छ। केएनपी जापान पेन्ट्स र हिमालय हर्बल सहायक प्रायोजकको रुपमा रहने भएका छन्।