MENU

नेपालमा राष्ट्रपतिबाट संविधान संशोधन विधेयक प्रमाणीकरण

काठमाडौं, नेपाल ।

राष्ट्रपति विद्यादेवी भण्डारीले, नेपालको लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छिन्।

बिहीबार राष्ट्रियसभाले सर्वसहमति पारित गरेर फिर्ता पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाएसंगै राष्ट्रपति भण्डारीले पनि प्रमाणीकरण गर्नुभएको राष्ट्रिपति कार्यालयले जनाएको छ ।

भण्डारीले प्रमाणीकरण गरेसँगै २०३२ सालदेखि नेपालको नक्साबाट हराएको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूमाग संविधानमै समेटिएको छ ।

नक्सालाई संविधानको अनुसूची–३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा संविधान विधेयक पेश गरेको सरकारले त्यसअघि जेठ ७ गते सरकारले भारतले अतिक्रमणमा गरेको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

जेठ २७ गते प्रतिनिधिसभामा छलफल भइ, ३१ गते अर्थात् आइतबार पारित सर्वसहमतिले भएको सो विधेयक बिहिबार राष्ट्रियसभाबाट पनि पारित भएको थियो।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये विधेयकको पक्षमा २५८ जना सांसदले मतदान गरेका थिए। विपक्षमा एक मत पनि परेको थिए।

बिहीबार राष्ट्रियसभामा पनि ५९ मध्ये ५७ जना सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए।