MENU

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ पुग्यो

क्वारेन्टिनमै ज्यान गुमाएका दैलेखका युवाको मृत्यु कोरोना भाइरसका कारण भएको पुष्टि भएको छ ।

शनिबार बिहान दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका ३५ बर्षिय ती युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले पुष्टि गरेका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ ।

दुल्लु नगरपालिका–११ का ३५ वर्षीय ती युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।

भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो ।

यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १–१ जनाको मृत्यु भएको थियो ।

क्वारेन्टिनमै ज्यान गुमाएकी महिलाको रिर्पोट नेगेटिभ

प्युठानमा यही जेठ १३ गते क्वारेन्टिनमा मुत्यु भएकी महिलाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बस्दै आएकी महिलाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।

उनीसंँगै क्वारेन्टिनमा बसेका उनका श्रीमान आमा, भाइ र दुई छोराको यसअघि आरडिटी रिपोर्ट नेगेटिभ आएको थियो ।

ती महिलाले लामो समयदेखि भारतमा बे्रन ट्युमरको उपचार गराइरहेका र चिकित्सकले निको नहुने भनी घर पठाएको बताइएको छ ।