MENU

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ पुग्यो, संक्रमितको संख्या १५ हजार ४९१

काठमाडौं, नेपाल ।

नेपालमा कोरोना भाइरसबाट थप २ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गोरखाको पालुङटारका एक र रुपन्देहीका एक जनाको कारोनाका कारण मृत्यु भएको जानकारी दिएका हुन्।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा गौतमले गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

असार १७ गते कतारबाट आएर पालुङटारकै क्वारेन्टिनमा बसेका उनको १८ गते स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा शुक्रबार पोजेटिभ देखिएको थियो। उनको गोरखा अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।

यस्तै रुपन्देही दवदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

असार १८ गते मात्रै कोरोना पुष्टि भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा १८ गते नै मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

थप २३२ जनामा संक्रमण पुष्टि

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २३२ जनामा कोरोना पुष्टि भएको बताए।

पछिल्लो २० घण्टामा ४ हजार ५० जनाको पीसीआर परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ६ हजार ४१५ पुगेको छ।