MENU

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो, ४६४ संक्रमित

काठमाडौं, नेपाल ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १÷१ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

योसंगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

शुक्रबार पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यस्तै बिहीबार राति सिराहाको गोलबजार नगरपालिका–१२ का २१ वर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा शुक्रबार विहान मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विहानै कोशी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

४६४ जना संक्रमित

त्यस्तै शुक्रबार आयोजित नियमीत ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

देशभरका प्रयोगशालामा ७ हजार ९२६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । उनीहरुमध्ये ७० जनाको मृत्यु भएको छ भने १५ हजार ८१४ जना निको भएका छन् ।