MENU

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो थप दुईको मृत्यु

काठमाडौं, नेपाल ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना पुष्टि भएको छ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले, ४८ महिला र ३ सय ८६ जना गरि थप ४३४ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिए ।

योसँगै नेपालमा ११ हजार १६२ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

बिहिबार डिस्चार्ज हुनेमा १९ महिला र २९३ जना रहेका छन्।

योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या २ हजार ६५० पुगेको छ।

जसमा २१६ महिला र २ हजार ४३४ पुरुष रहेका छन्।

थप दुइजनाको मृत्यु

यसैबीच नेपालमा थप दुइजनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

चितवन रत्ननगर स्थायी घर भई हाल ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको टिकाथली बस्ने ५० वर्षीय पुरुषको उपचारका क्रममा आज पाटन अस्पतालमा मृत्यु भएको हो ।

पाँच महिनादेखि मृगौला रोगको उपचार गराइरहेका ती पुरुषमा असार ५ गते संक्रमण पुुष्टि भएपछि पाटन अस्पताल ल्याइएको थियो।

त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको निधन भएको छ ।

स्याङजा सिरुबारीका ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

मधुमेह रोगीसमेत रहेका पुरुषलाई दुई दिनदेखि भेन्टिलेटरमा राखी उपचार गरिएकोमा गएराति निधन भएको हो।

गण्डकी प्रदेशमा यसअघि स्याङजाकै वालिङका ५८ वर्षीय पुरुषको ज्यान गइसकेको छ ।

योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या २६ पुगेको छ।