MENU

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो ४३ जनाको मृत्यु

काठमाडौं, नेपाल ।

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्ज माइस्थानका ७० वर्षिय वृद्धको कोरोनाकै कारण ज्यान गएको पुष्टि गरेको हो ।

स्वास प्रश्वासमा समस्या आएपछि नारायणी अस्पताल भर्ना भएका ती वृद्धको उपचारकै क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

संक्रमितको संख्या १८ हजार नाघ्यो

यस्तै नेपालमा थप १४७ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टा देशभर ३ हजार ४ सय ८१ जना पीसीआर परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमित डिस्चार्ज भएको बताए।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ।

स्वास्थ्य मन्त्रालयले हालसम्म देशभर २० हजार ९८ जना क्वारेन्टिनमा रहेको जनाएको छ।

देशका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ५८ जना संक्रमित उपचाररत छन्।