MENU

नेपालमा जेठ ३२ सम्म लकडाउन, विमानस्थल असार १६ गतेसम्म बन्द हुने

नेपाल सरकारले, लकडाउनको समय यही जेठ ३२ गतेसम्मका लागि लम्ब्याएको छ ।

शनिबार साँझ बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको हो ।

शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तराष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

विदेशमा रहेका नेपाली ल्याइने

यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ ।

सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने उच्चस्तरिय समितिको निर्णयलाई स्वीकृत गरेको हो ।

नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना छ ।