MENU

नेपालमा झण्डै चार महिना लामो लकडाउन अन्त्य

काठमाडौं, नेपाल ।

नेपाल सरकारले झण्डै चार महिनादेखिको लकडाउन अन्त्य गरेको घोषणा गरेको छ।

मन्त्रिपरिषद्ले, गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार राति १२ बजेबाट लकडाउनको अवस्था नरहने जानकारी दिएका हुन् ।

अब लकडाउन जारी छ भन्न नपर्ने भन्दै खतिवडाले लकडाउनले मनोवैज्ञानिक त्रास दिएको र बहानाबाजी पनि भएको भन्दै यसलाई अन्त्य गरिएको बताएका हुन् ।

तर, स्वास्थ्य सुरक्षाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड कायमै राख्नुपर्ने उनले बताए ।

सरकारले चैत ११ गतेदेखि नेपालभर लकडाउन सुरु गरेको थियो ।

सार्वजनिक यातायात र हवाई उडान पनि खुल्ने

सरकारले भदौ १ गतेबाट हवाई उडान सुचारु गर्ने निर्णय पनि गरेको छ । भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबारदेखि सार्वजनिक यातायात पनि संचालन हुँदैछन् ।

अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको उनले बताएका छन्।

शैक्षिक संस्था र धार्मिक स्थलको प्रतिवन्ध कायमै

सरकारले लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरुको बन्द कायमै राखेको छ ।

सरकारका प्रवक्ता खतिवडले स्कुल, कलेज तथा टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने बताए।

त्यस्तै साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ। सेमिनार र भेला भने गर्न नपाइने उनले बताए।