MENU

नेपालमा थप १७ जनामा कोरोना पोजेटिभ, संक्रमित ४४४ पुगे

झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या ४ सय ४४ पुगेको छ ।

बिहिबार विहान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् ।

झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले पुष्टि गरेका हुन् ।

अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका छन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

त्यस्तै धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि बुधबार एकै दिन २५ जनामा संक्रमण देखिएको थियो ।