MENU

नेपालमा थप २७४ जनामा कोरोना पुष्टि, काठमाडौंमा संक्रमण बढ्दो

काठमाडौं, नेपाल ।

नेपालमा थप २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गर्दा थप २ सय ७४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको छ।

वितेको २४ घण्टामा २ सय २७ जना डिस्चार्ज भएसंगै, डिस्चार्ज हुनेहरुको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ।

हाल देशभर १३ हजार २ सय १ जना क्वारेन्टिनमा रहेका छन्।

बिहिबारसम्म देशभर ५ हजार २ सय २७ जना सक्रिय संक्रमित रहेको डाक्टर गौतमले जानकारी दिए ।

उपत्यकामा थप ४५ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँका ४१, ललितपुरका दुई र भक्तपुरका दुई जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ तथा काठमाडौँका १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा काठमाडौँका १३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौँका ४ जनामा संक्रमण पुष्टि भएको छ भने नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ३ जना र स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।