MENU

नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४४८

नेपालमा आइतबार थप २ सय १३ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३४ सय नाघेको छ।

पछिल्लो २४ घण्टामा २ सय ९ जना पुरुष र चार जना महिलामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म भएका कुल संक्रमित मध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला रहेका छन्।

नेपालमा अहिलेसम्म १३ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भइसकेको छ।

देशभर ७७ जिल्ला मध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ।

थप १ सय २ जना निको भएर घर फर्किएको मन्त्रालयको भनाइ छ। यससँगै कुल निको हुनेको संख्या ४ सय ६७ पुगेको छ। जसमध्ये ३ सय ९९ जना पुरुष र ६८ जना महिला रहेका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको आशंकामा कुल ९६ हजार २ सय ५ पीसीआर परीक्षण भएको छ।

यस्तै देशभर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।