MENU

नेपालमा लकडाउन खुकुलो पारियो

काठमाडौं, नेपाल ।

नेपाल सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले नियमित साप्ताहिक पत्रकार सम्मेलनमार्फत, यसअघि मन्त्रिपरिषद्को बुधबारको बैठकले गरेका लकडाउन खुकुलो बनाउने निर्णयहरु सार्वजनिकगर्दै सेवा क्षेत्रका अधिकासं कामहरु नियमीत गरिने जानकारी दिए ।

सरकारको निर्णय औपचारिकरुपमा सार्वजनिकगर्दै उनले, सवारी साधन चल्नेदेखि, व्यापार व्यवसायी खुलाउने तथा विकास निर्माणका काम शुरु गर्ने जानकारी दिए ।

सरकारी निर्णय अनुसार मोटरसाइकलमा एक जना मात्र चढ्न पाउने छन् भने चारपाङ्ग्रेमा दुईजनामात्र चढ्न पाउने गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।

तर जोर र बिजोर नम्बरका निजी सवारी साधन जोर र बिजोर गते मात्रै चलाउन पाइने नियम लगाइएको छ । त्यस्तै उद्योग, पसल, डिपार्टमेन्टल स्टोरहरुलाई खुला गरिएको छ।

स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, कृषि क्षेत्र, उद्योग व्यापारसंगै सबै प्रकारका ढुवानी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको छ।

बैंक तथा वित्तीय संस्था, नर्सरी र वनजन्य उद्यमहरु, विकास आयोजनाहरु संगै रेस्टुरेन्टलाई डेलिभरी सेवा दिने गरि खोल्न अनुमति दिइएको छ । सरकारी कार्यालयहरु, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी संस्थाका कार्यालयहरु सञ्चालन गरिने प्रवक्ता खतिवडाले जानकारी दिए ।

मानिसहरु पैदल हिँड्ने पाउने भएपनि सामाजिक दुरी कायम गर्न सरकारले आग्रह गरेको छ।

सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेपछि बुधबारबारै नेपालको मुख्य शहरीक्षेत्रमा पसल खुल्न थालेका थिए भने निजी सवारी साधन पनि बाक्लै चल्न थालेका थिए ।