MENU

विदेशमा अलपत्र परेकालाई नेपाल भित्र्याउन बजेट विनियोजन

नेपाल सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७—७८को बजेट प्रस्तुत गर्दै कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशमा अलपत्र परेका तर स्वदेश फर्कन चाहेकाहरुलाई ल्याउन बजेट छुट्याइएको बताए ।

त्यसरी ल्याइएकाहरूलाई सीप प्रदान गर्ने घोषणा पनि सरकारले गरेको छ ।

आगामी आर्थिक वर्ष ०७७—७८ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रकम विनियोजन गरिएको जानकारी दिए ।

यो कार्यक्रमबाट २ लाखलाई रोजगारी दिने लक्ष्य सरकारको छ ।

त्यस्तै सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब छुट्याइएको मन्त्री खतिवडाले बताए ।

कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा परिचालन गर्ने नीति पनि सरकारले लिएको छ।

२ प्रतिशत ब्याजमा नवप्रवर्तन व्यवसायका लागि सुरुवाती पुँजी दिने घोषणा पनि सरकारले गरेको छ ।

आगामी वर्ष साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सरकारले लिएको छ ।

त्यस्तै ७५ हजार सीपमूलक तालिम दिनका लागि ४ अर्ब ३४ करोड बजेट पनि विनियोजन भएको छ ।