MENU

नेपालले जारी गरेको नयाँ नक्सा अस्वीकार्य : भारत

लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गर्ने नेपालको निर्णयको भारतले विरोध गरेको छ।

बुधबार दिउसो नेपालले औपचारिक रुपमा लिम्पीयाधुरा सहितको नेपाली भूमी समेटेर नयाँ नक्सा सार्वजनिक गरेको ६ घण्टा नवित्दै भारतले नेपालको निर्णयलाई एकतर्फी कार्य भन्दै सो भौगोलिक दाबीलाई अस्वीकार गर्ने प्रतिक्रिया दिएको हो ।

बुधबार साँझ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले सार्वजनिक गरेको नयाँ नक्सा भारतलाई मान्य नहुने बताएका छन्।

‘नेपाल सरकारले आज नेपालको परिमार्जित नक्सा जारी गरेको छ। जसमा भारतीय भूभाग समेत समावेश छ। यो एकपक्षीय कार्य कुनै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले पत्रकारहरुलाई जवाफ दिँदै भनेका छन् ।

नेपालले नयाँ नक्सामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने दाबी गरेको भारतले, यो सीमासम्बन्धी मुद्दालाई कुटनीतिक संवादमार्फत हल गर्ने समझदारीविरीत रहेको समेत तर्क गरेको छ।

भारतले गत कात्तिकमा एकतर्फी रुपमा नेपाली भूमि लिपुलेक समेत समावेश गरी नयाँ नक्सा जारी गरेपछि नेपालले पनि भारतलाई ठीक यही आरोप लगाएको थियो।

भारतले नेपाली नेतृत्वले थाँती रहेका सीमासम्बन्धी विषय सल्टाउन कुटनीतिक संवादका लागि उचित वातावरण बनाउने विश्वास पनि व्यक्त गरेको छ ।