MENU

नेपालीका सहयोगी न्युजर्सीका काउन्सिलम्यानको कोरोनाभाइरस संक्रमणबाट निधन

अमेरिकाको न्युजर्सीका सिटीका काउन्सिलम्यान मायकल युनको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ। न्युजर्सी सिटीका मेयरले सोमबार दिउँसो उनको निधन भएको जानकारी दिएको अमेरिकी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

काउन्सिलम्यान मायकलले नेपाललाई विभिन्न सहयोग गर्दै आएको भन्दै अमेरिकामा रहेका नेपालीहरुले उनको निधनमा दुःख व्यक्त गरेका छन्। उनले विशेष गरी भूकम्पपछि नेपाललाई राहत दिएको, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकालाई जर्सी सिटीसँग भगिनी सम्बन्ध कायम गर्न उनको मुख्य भूमिका रहेको जर्सी सिटीकी मेयरकी सल्लाहकार डा. बिष्णुमाया परियारले बताएकी छिन्।

परियारले सामाजिक सञ्जाल (फेसबुक) मा ‘नेपालीका सच्चा मित्रको अवसान’ भनेर पोष्ट गर्दै नेपालमा विभिन्न खालको सहयोग गर्ने राजनीतिज्ञको निधन भएकाेमा दुःख पनि व्यक्त गरेकी छिन्।

अमेरिकामा सञ्चालित नेपाली भाषाका अनलाइनहरुले तीन वर्षअघि जर्सी सिटीको मेयर अफिसमा नेपालको झण्डा फहराउन भूमिका खेलेको उल्लेख गरेका छन्।

भूकम्पपछि राहत संकलन गरेर पठाउन तथा अमेरिकामा रहेका नेपालीका लागि टीपीएस प्रस्ताव पारित गराउन पनि उनको महत्वपूर्ण भूमिका रहेको लेखेका छन्।