MENU

नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक निर्माण गरेको घटनाप्रति नेकपाको आपत्ति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भारतले नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेको घटनाप्रति आपत्ती जनाएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा विश्व मानव समुदाय नै कोरोनासंग जुधिरहेका बेला यस्तो घटना हुनु निन्दनिय हो भनिएको छ।

भारतको यो एकपक्षीय कदम यसअघि दुवै देशबीच भएका सहमतिको भावना विपरित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सीमा सम्बन्धी समस्यालाई दुवै तर्फका सरकारको उच्चतम तहमा भएका सहमति बमोजिम दुई देशद्वारा स्थापित संयन्त्र मार्फत् समाधान गर्नका लागि नेपालको तर्फबाट पटक पटक गरिएका अनुरोधको विपरित रहेको उल्लेख गरिएको छ ।

त्यस्तै नेकपाले दुई पक्षबीच भएका समझदारीका आधारमा कुटनीतिक माध्यमबाट सीमासम्बन्धी विषयहरु सुल्झाउन आवश्यक पहल गर्न नेपाल र भारतका सरकारलाई आग्रह समेत गरेको छ ।

त्यस्तै सुगौली सन्धी १८१६, बमोजिम महाकाली नदीदेखि पूर्वका लिम्पियाधुरा, कालापानी, र लिपु लेकसहित सम्पूर्ण भूमि नेपालको भएको पनि विज्ञप्ति मार्फत सम्झाइएको छ ।

यसअघि आजै अपरान्ह परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा सो सडक निर्माण गरेर नेपालसँग भएका सहमतिहरुको उल्लंघन गरेको बताएको थियो। त्यसको केहि घण्टापछि भारतको विदेश मन्त्रालयले, भारतले बनाएको सडक भारतीय भूमिमै पर्ने दाबी गरेको छ।