MENU

नेपाली भूमी हुदै चिनको तिब्बत जोड्ने भारतिय सडक खुलेपछि चौतर्फि विरोध, सरकारी धारणा माग

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले, भारतले, नेपाली भूमी लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि सरकारको धारणा मागेको छ ।

शुक्रबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गरी भारतले नेपाली भूमी लिपुलेक हुदै बनाएको सडक मार्गबारे सरकारको धारणा माग गरेका छन् । प्रवक्ता शर्माले ट्वीटरमा ’लिपुलेक नेपालको भुमि हो, हामी प्रष्ट छौं । चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे नेपाल सरकारको धारणा चाहन्छौं भनेका छन् ।

त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावलले, ट्वीट मार्फत सडक निर्माण भएर संचालनमा आउदाँसम्म कसरी सरकारलाई थाहा भएन भन्दै सरकारको धारणा मागेका छन् । ट्वीटरमा उनले मातृभूमी र जनताको सुरक्षा गर्नु सरकारको दायित्व भएको स्मरण गराउँदै भारत सडक निर्माण गरेको घटना प्रति दुःख व्यक्त गरेका छन् ।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले, नेपाली भुमी हुदै भारतले चिनसम्म सडक बाटो संचालन गरेको विषयमा अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गरेका छन् । शुक्रबार ट्विट गर्दै उनले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् ।

यसअघि, सो सडकको आज भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए ।