MENU

नेपाल सरकारले दियाे भारतीय राजदूतलाई ‘कूटनीतिक नोट’

नेपाली भूमि हुँदै मानसराेवर जाने बाटो उद्घाटन गरेको विषयप्रति असहमति जनाउँदै सरकारले भारतीय राजदूतलाई ‘कूटनीतिक नोट’ थमाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामेबार बिहान ११ बजे भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर भारतीय कदमप्रति असहमति जनाएका हुन्।

मन्त्रालय स्रोतका अनुसार भारतीय कदमको विषयमा जानकारी लिँदै त्यसमा आफूहरुकाे असहमति रहेको भावसहितको ‘कूटनीतिक नोट’ राजदूतलाई थमाइएको थियो। राजदूतसँगको छलफलमा परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र सचिव शंकरदास बैरागी र भारतसहित दक्षिण एशिया हेर्ने महाशाखा प्रमुख उपसचिव यज्ञबहादुर हमाल सहभागि थिए।

गत शुक्रबार भातीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमिमा पर्ने लिपुलेक हुँदै जाने ‘लिङ्क रोड’ दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका थिए। नेपालले भोलिपल्ट विज्ञप्तिमार्फत प्रतिवाद गरेको थियो।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको, त्यसलाई पुष्टि गर्ने विभिन्न एैतिहासिक तथ्य पनि आफूरुसँग भएको र नेपाली भूमिभित्र कुनै पनि काम नर्गन भारतलाई भनेको थियो।

प्रतिउत्तरमा भारतले पनि विज्ञप्ति जारी गर्दै उद्घाटन गरिएको सडक मार्ग भारतीय भूमिभित्रै पर्ने दावी थियो। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उक्त रुट मानसरोवर जाने तिर्थयात्रीले पहिलेदेखि नै प्रयोग गर्दै आएको उल्लेख छ।

सीमासम्बन्धी विषय सुल्झाउन भारतले संयन्त्र स्थापना गरेको भन्दै विज्ञप्तिमा उक्त संयन्त्रले नेपालसँग सहकार्य गरेर काम गरिरहेको बताइएको छ।सीमासम्बन्धी विवाद कूटनीतिक संवाद र नेपालसँगको निकट र मित्रवत् सम्बन्धको भावनाअनुसार हल गर्न तयार रहेको भारतको भनाइ थियो।