MENU

नेपाल सरकारले विदेशमा रहेका नागरिकको समयमै उद्धार गर्छ : प्रधानमन्त्री ओली

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले, कोरोना भाइरसको महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई चाडैं उद्दार गर्ने संकेत गर्नु भएको छ।

सोमबार साँझ राष्ट्रको नाममा सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले भने ‘विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश र्फकनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिनेछ ।’

अहिले मुलुक बाहिर रहेका नेपालीहरुको घर फर्किने क्रम बढेको बताएका प्रधानमन्त्री ओलीले कोभिड १९ को विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीहरुलाई सरकारले समयमै उद्धार गर्ने बताए ।

समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिने उनको भनाई छ ।

सम्बोधनमा उनले भने ‘सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्दछु ।’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोही पनि रहरले विदेशिएको हुँदैन भन्दै बाहिरबाट फर्केका नेपालीको चित्त दुखाउने अभिव्यक्ति नदिन सबैमा आग्रह गरे ।

‘कोही पनि रहरले मात्र विदेशिएको हुँदैन । कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ। कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन । कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरुको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन म सबै देशबासीहरुलाई आग्रह गर्दछु ।’ सम्बोधनमा ओलीले भने ।

तर भारतबाट कोरोना परीक्षण नगरि नेपाल भित्र्एको भने प्रधानमन्त्रीले असन्तुष्टि पोेखे ।

प्रधानमन्त्रीले भने, ‘तर छिमेकी मित्रराष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणविना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ । परीक्षणको अभावमा महामारी तीव्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ ।’

उनले भने ‘विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदायस्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो’

त्यस्तै प्रधानमन्त्री ओलीले आफूले नेपालीहरू ठूलो संख्यामा कार्यरत रहेका मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग आफुले कुरा गरेको र नेपालीहरूको अप्ठ्यारोमा सहयोग गर्न गरेको आग्रहमा ती देशहरुले निश्चिन्त रहन आश्वस्त पारेको पनि जानकारी दिए ।