MENU

बिशेष सम्पादकीय: “नेप्लिज अस्ट्रेलियन” को प्रकाशन आरम्भ

Nepalese Australian

Nepalese Australian News Online Launching

बहुसाँस्कृतिक र बहुभाषिक समाजलाई प्रोत्साहन र सम्मान गरिरहेको अस्ट्रेलियामा नेपाली भाषा र सँस्कृति पनि आफ्नो प्राकृतिक स्वरुपमा हुर्कन पाईरहेको छ । हाम्रो सुभारम्भ अघि हामी यो अस्ट्रेलियालाई मानव वस्ति योग्य बनाउने यहाँका आदिबाशी पुर्खा र तिनका बर्तमान सन्तानहरुलाई सम्मान गर्न चाहन्छौ । र, अस्ट्रेलियाको बहुसाँस्कृतिक समाजको एक अभिन्न हिस्साका रुपमा नेपाली भाषा र सँस्कृतिका प्रतिनिधि हुन पाएकोमा गर्व गर्दछौ ।

अस्ट्रेलियाको नेपाली समाजको सम्पूर्ण प्रगतिका पक्षमा क्रियाशील रहने प्रतिबद्धताका साथ हामी आएका छौ र हामीलाई बिश्वास छ हामी नेपाली अस्ट्रेलियनका मनमा बसिसकेका छौ ।

अस्ट्रेलियामा पाइला टेकेको आधा शताब्दी भन्दा पनि पुरानो नेपाली समाज, सँस्कृति र सभ्यताले यहाँ निर्वाध फुल्ने र फल्ने अवसर पाएको छ । अस्ट्रेलियामा पाइला टेक्ने प्रथम नेपालीहरुप्रति हामी गर्व गर्छौ । र, उहाँहरुले हाम्रो पहिचानको संरक्षणमा गर्नु भएको योगदानको हामी उच्च सम्मान गर्छौ ।

उहाँहरुले नेपाली समाज र सभ्यताको प्रगतिका लागि गरेका कामको निरन्तरता दिने हाम्रो कर्तब्य ठान्छौ । अस्ट्रेलियामा नेपाली सँस्कृतिको सुन्दर फुलवारी हुर्किरहेको छ । अस्ट्रेलियन बहुसास्कृतिक समाजको मेघा इन्द्रेणी भित्र नेपाली इन्द्रेणी टल्किरहेको छ । हामी यो इन्द्रेणीका सबै रङ्ग अझै टल्काउने चाहन्छौ ।

Nepalese Australian Online News Portal Editorial Team

नेप्लिज अस्ट्रेलियन किन ?

नेप्लिज अस्ट्रेलियन डट कम डट एयु अस्ट्रेलियामा बसोबास गर्ने नेपाली मुलका मानिसहरुको साझा डिजिटल मिडिया प्लाटफर्म हो । अस्ट्रेलियालाई कर्मथलो बनाएका नेपाली पत्रकारिताका अनुभवी र ब्यवसायीक व्यक्तिहरुको समुहद्वारा संचालित यो मिडियाले यहाँको नेपाली समाजको सरोकारका ताजा समाचार र सामाजिक अभिरुचीका तटस्थ बिचार पस्कने छ ।

अस्ट्रेलियाको नेपाली समाजलाई यहाँको मुलाप्रबाहमा जोड्ने कर्तब्य पुरा गर्नेछ । आधुनिक अस्ट्रेलिया निर्माणमा नेपालीहरुको योगदान र भूमिका खोजतलास गर्नेछ । नेपाली भाषा, भूगोल र सभ्यतालाई योगदान गर्ने अस्ट्रेलियनहरुको खोजि गर्दै उनीहरुका योगदानलाई स्थापित गर्ने छ । अस्ट्रेलियाको नेपाली समाजको सुचनाको आधिकारिक माध्यम बन्नेछ । अस्ट्रेलियामा हुर्कदै गरेको नेपाली ब्यबसाय, उद्यमशीलता र फिलान्थ्रोपीको सहयात्री बन्नेछ ।

हामी समस्त पाठक एवं शुभचिन्तकहरुबाट रचनात्मक सल्लाह सुझाव र प्रतिक्रिया सधैं अपेक्षा गरिरहनेछौं । यहाँहरु सँग भएका समाचार वा विचार प्रदान गरेर सहयोग गर्न पनि हामी आग्रह गर्दछौं ।

हामी अस्ट्रेलियाको प्रचलित कानून, यहाँको सामाजिक मुल्य र मान्यता अन्तर्गत रही प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सदुपयोग गर्ने छौ । यसो गर्दा पत्रकारिताका बिश्वब्यापी मान्यताहरु ब्यवसायिकता, निस्पक्षता, समाबेशिता, तथ्यपरक र जवाफदेहितालाई सम्मान गर्दै यो पोर्टल मार्फत अनलाइन पत्रकारिताको नयाँ अभ्यास गर्ने छौ ।

आउनुहोस हाम्रो साझा फुलबारी सबै मिलि सुन्दर बनाऊ ।

धन्यबाद
नेप्लिज अस्ट्रेलियन डट कम डट एयु
सम्पादन समुह 

जुन २८, २०२०