MENU

पर्यटन क्षेत्र : पदयात्रा र पर्वतारोहणमा मात्रै १५ अर्ब रुपैयाँ घाटा हुने आंकलन

कोरोना भाइरसलाई नियन्त्रण तथा रोकथामको लागि यतिबेला विश्व नै लकडाउनमा छ। यसले गर्दा विश्व अर्थतन्त्रसमेत धराशायी भएको छ । विश्व मात्रै नभएर नेपालको अर्थतन्त्रमा पनि यसले गहिरो असर पारेको छ। गत चैत ११ गतेदेखि मुलुक लकडाउनमा छ।

यसरी मुलुक लकडाउन भएर देशमा सञ्चालनमा रहेका समग्र उद्योग, कलकारखाना, होटल, रेष्टुरेन्ट, पर्यटन लगायत आर्थिक गतिविधिका काम ठप्प रहेका छन् ।

लकडाउनको असर समग्र सबै आर्थिक क्षेत्रमा परेको छ । यसमा पनि नेपालको आर्थिक बृद्विको मुख्य स्रोत पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ। यस्तो अवस्था बढ्दै गएमा पर्यटन क्षेत्रको पर्वतारोहण र पदयात्रा व्यवसाय उठ्नै नसक्ने गरि थला पर्ने ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले बताएका छन् ।

पर्यटनमा परेको असरले नेपालको अर्थतन्त्रमा निकै ठूलो प्रभाव पारेको सुवेदीले बताए । उनका अनुसार पर्यटन व्यवसायमा दुई किसिमका गतिविधि हुन्छन् । एउटा देखिने गरि र अर्को नदेखिने गरि । हिमाली क्षेत्रहरुमा हुने गरेका आर्थिक गतिविधि नदेखिने गरि भइरहेको हुन्छ भने होटल, रेष्टुराँ, ट्राभल, ट्रेकिङ, एयरलाईन्सहरुको गतिविधि देखिने गरि भइरहेको हुन्छ । तर अहिले सबै गतिविधि ठप्प छ ।

सरकारले देशको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ दशमलब १८ प्रतिशत छ भनेको छ तर टानका अध्यक्ष सुवेदी भने यो मान्न तयार छैनन् । उनी करिब १० प्रतिशत योगदान रहेको दाबी गर्छन् । पर्यटन क्षेत्र अन्तर्गत धेरै उपक्षेत्रहरु छन् । एयरलाईन्स, ट्राभल, ट्रेकिङ, होटल लगायत सबै क्षेत्रमा गरिएको लगानी यतिबेला धराशायी बनेको छ । ट्रेकिङ क्षेत्रमा १ हजार ८ सय ट्रेकिङ कम्पनी र ७ सय जति ट्राभल कम्पनीहरु रहेका छन् ।

अहिलेको अवस्थाले पदयात्रा र पर्वतारोहणमा मात्र करिब १५ अर्ब रुपैयाँको नोक्सानी बेहोर्नु पर्ने र त्यसमा संलग्न करिब ८ लाख पर्यटन मजदूरहरुको रोजगारी गुम्ने अवस्था रहेको अध्यक्ष सुवेदीले बताएका छन् ।