MENU

प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा लिखित पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ। प्रधानमन्त्री ओलीको ६९ औं जन्मदिनको अवसरमा उक्त पुस्तक विमोचन भएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक विमोचन गरेका थिए।

आन्तरिक र विदेशी नीतिबारे विभिन्न ठाउँमा दिइएको भाषण, अभिव्यक्ति र अन्तर्वार्ताका विषयवस्तु पुस्तकमा समेटिएको छ। देशलाई गोलबद्ध बनाएर अघि बढाउने प्रधानमन्त्री ओलीको गहिरो सदीक्षा पुस्तकमा प्रकट छ। उनले मुलुक सञ्चालनका दौरान प्राप्त गरेको सीप, अनुभव, मुलुकलाई बदल्न अघि सारेको दृष्टिकोण र त्यसको कार्यान्वयनका विषय पुस्तकमा समेटेका छन्।

प्रधानमन्त्री ओलीले प्राकृतिक हिसाबले सुन्दर र उर्वर भूमिमा अव्यवस्थाका कारण मानिसले खान, लाउन र बस्ने ठाउँ नपाएको उल्लेख गरे। वितरणमा समुचित व्यवस्था गर्न नसक्दा समस्या आएको उनले बताए। उनले मुलुकलाई २१औं शताब्दीजस्तो बनाएर अघि बढाउने उद्देश्यका साथ सरकार लागेको बताए। ‘अटोक्रेसी टु डेमोेक्रेसी त आइहाल्यो’, उनले भने, ‘अबको गन्तव्य पोभर्टी टु पस्पेरिटी हो।’

उक्त पुस्तकमा अबको नेपाललाई कसरी अगाडि बढाउने भनेर विभिन्न ढंगले आफ्नो दृष्टिकोण प्रस्तुत गरेको उनले बताए। मेट्नै नसकिने खालको मुलुकको विकासको सम्भावना अथाह रहेको उल्लेख गर्दै उनले स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढ्दा सफलता प्राप्त हुने धारणा व्यक्त गरे। उनले हिमाल, पहाड र तराईमा विविधतायुक्त, समृद्ध र उर्वर प्रकृति रहेको उल्लेख गर्दै विकासका लागि त्यसको खास अर्थ रहेको बताए।

उनले नेपाललाई ढुंगा, काठ, माटो, दाउरा, बाँस, पराल सबै प्रकृतिले दिए पनि व्यवस्थापन अभावमा घर बन्न नसकेको सन्दर्भ जोडे। केही वर्षभित्रमै मुलुक आवासविहीनताको अन्त्य हुने उद्घोष उनले गरे। उनले देश गरिब भए पनि भोमकमरी नभएको जिकिर लिँदै भने, ‘कोही भोको पर्दैन, कोही भोकै मर्दैन, सरकारले जिम्मा लिन्छ।’ उनले धेरै ठूला कुरा गर्नुभन्दा पहिले त्यसको व्यवस्था गर्नुपर्छ भनेर सरकारले काम थालिसकेको जानकारी दिए। सरकारले सडक बालबालिका, सडक मानव र सडकमा पछारिएका बेहाल मान्छे रहने अवस्थाको अन्त्य गरेको पनि उनले बताए।

समृद्धिको यात्रामा अघि बढेको मुलुकमा विगतको सुस्ततालाई चिर्दै हरेक दिन ६ किलोमिटर सडक बनिरहेको उनले उल्लेख गरे। ‘दुई वर्षमा साढे ३ सय पुल बनेको छ, तुइन विस्थापित भएको छ, ऊर्जा उत्पादनमा असाधारण वृद्धि भएको छ, सञ्चिति र बचतमा वृद्धि भएको छ, व्यापार असन्तुलन अलिकति भए पनि न्यून गरेका छौं’, उनले भने। उनले व्यापार सन्तुलनमा लैजान उत्पादन र उत्पादकत्व बढाउँदै उपभोगको ढाँचा प्रवृत्ति र तरिकालाई फेर्नुपर्नेमा जोड दिए।

सार्वसौमसत्ता र जनता निर्णयक भएको वास्तविक लोकतान्त्रिक प्रणालीको थालनी गरिएको स्मरण गर्दै उनले ढंग पुर्‍याइएन भने मुलुक सार्वभौम भए पनि समस्या यथावत् रहने बताए। उनले प्राकृतिक स्रोतसाधनलाई समुचित ढंगले उपयोग गर्न सक्ने गरी शिक्षा र तालिमको आवश्यकता महसुस गरे। प्राकृतिक स्रोतभित्रको असाधारण सम्भावनालाई समुचित प्रयोग गर्नुपर्नेमा उनको जोड थियो।